नेपाल-भारत द्विपक्षीय विकास परियोजनाको प्रगति समीक्षा

नेपाल–भारत निरीक्षण संयन्त्रको नवौँ बैठकले द्विपक्षीय आर्थिक तथा विकास सहयोगअन्तर्गत कार्यान्वयनमा रहेका परियोजनाको प्रगति समीक्षा गरेको छ ।

काठमाडौँमा सोमबार बसेको बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र भारतका तर्फबाट नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त अध्यक्षता गर्नुभएको थियो ।

बैठकमा तराई सडकमार्ग, सीमापार रेल–वे, अरुण तेस्रो जलविद्युत् आयोजना, पेट्रोलियम उत्पादन पाइपलाइन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, भूकम्पपछिको पुनर्निर्माण, सिँचाइ, विद्युत् परियोजनालगायत सबै चलिरहेका परियोजनाको कार्यान्वयनको स्थितिका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

साथै दुई देशबीचको विद्युत् प्रसारण लाइन, नेपाल पुलिस एकेडेमी निर्माण, एकीकृत जाँच चौकी, रामायण सर्किट, महाकाली नदीमा मोटरेबल पुल, कृषि तथा सांस्कृतिक सम्पदालगायतका क्षेत्रमा भएको साझेदारीको प्रगति समीक्षा गरिएको छ । कार्यान्वयन हुन बाँकी नेपाल–भारत द्विपक्षीय परियोजनाहरूको छिटो कार्यान्वयनको आवश्यकतालाई दुवै पक्षका प्रतिनिधिमण्डलले बैठकमा जोड दिएको जनाइएको छ ।

नेपाली प्रतिनिधिमण्डलमा सम्बन्धित आयोजना कार्यान्वयनका लागि जिम्मेवार निकायका उच्चाधिकारी तथा भारतीय प्रतिनिधिमण्डलमा भारतीय दूतावासका उच्चाधिकारी र परियोजना कार्यान्वयन निकायका पदाधिकारीको सहभागिता थियो ।

सन् २०१६ मा द्विपक्षीय परियोजनाको कार्यान्वयनको निरीक्षण र समयमा काम पूरा गर्नका लागि आवश्यक संयोजन गर्ने गरी यो संयन्त्र स्थापना गरिएको थियो । संयन्त्रको १०औँ बैठक आपसी सहमतिमा तोकिएको मितिमा हुने मन्त्रालयले स्पष्ट पारेको छ ।


ताजा खबर