गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वयन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने खालको नीति तर्जुमा गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।


आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थ मन्त्री शर्माले सामाजिक असमानता र असन्तुलनको बारेमा जानकारी भएन भने त्यसलाई हटाउने खालको नीति कार्यक्रम र बजेट बन्न नसक्ने भएकोले त्यसमा ध्यान केन्द्रित हुनु आवश्यक भएको बताउनुभयो । 


अर्थ मन्त्री शर्माले वैदेशिक रोजगारीबाट आर्जन गरेको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्ने गरी नीति बनाउन पनि सम्वद्ध कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।


उत्पादन क्षेत्रमा लगानी बढाएर रोजगारी सृजना गर्ने र गरिबी घटाउने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउनु पर्नेमा समेत उहाँले जोड दिनुभयो ।


घाटामा रहेका सार्वजनिक संस्थानहरूलाई नाफामा सञ्चालन गर्ने गरी नीतिगत तथा व्यवस्थापकीय सुधारको योजना ल्याउन कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।


मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै सूचना चुहिएकोप्रति असन्तुष्टि जनाउँदै अर्थ मन्त्री शर्माले त्यो विषयलाई गम्भीर रुपमा लिन आग्रह गर्नुभयो । मन्त्रालय वा संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुल टेबुलबाट सूचना चुहाउने र ब्ल्याकमेलिङ्ग गर्ने कार्य आइन्दा नगर्न समेत कर्मचारीहरूलाई सचेत गराउनुभयो । 


कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले जलविद्युत र सिमेन्ट उद्योगहरूलाई व्यवस्थित गरेको खण्डमा तिनले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन स्रोतको काम गर्ने विचार व्यक्त गर्नुभयो । 


कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत कर्जा–पुँजी–निक्षेप अनुपात(सीसीडी रेसियो) खारेज गरिएको र विदेशी विनिमय नियमित गर्ने ऐन संशोधनको प्रक्रियालाई छिटो टुङ्गो लगाउन आवश्यक रहेको बताउनुभयो ।


कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले राजश्व सङ्कलनको लक्ष्य पूरा गर्ने, घाटामा रहेका निकायहरूलाई नाफामा लैजाने र बेरुजु घटाउने काममा विशेष ध्यान दिन कर्मचारीहरूलाई निर्देशन दिनुभयो । –रासस


ताजा खबर