जिल्ला समन्वय समिति बनाउने माओवादी केन्द्रको निर्णय

सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

शनिबारदेखि सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो ।

जसमा वामगठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमा उल्लेख गरिएको थियो । यसलगायत बैठकले विधान संशोधन प्रस्ताव पनि पारित गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

बेैठकमा प्रस्तुत भएको राजनीतिक तथा सांगठनिक प्रस्तावका विषयमा संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा कायम राख्ने निर्णय भएको श्रेष्ठले बताउनुभयो ।

यसलगायत आगामी पुस ११, १२ र १३ गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

पार्टीको विधान संशोधनको प्रस्ताव सम्बन्धमा पार्टीलाई सर्वहारा, श्रमजीवी र समावेशी संरचनामा आधारित पार्टीको रुपमा अगाडि बढाइने उहाँले बताउनुभएको छ ।

बैठकमा महिला सहभागीलाई ३३ प्रतिशत, दलितहरूको १५ प्रतिशत र युवाको सहभागिता २० प्रतिशतसम्म पुर्‍याउने विषयमा पनि छलफल भएको छ । माओवादी केन्द्रको जिल्ला समितिहरु खारेज गरी जिल्ला समन्वय समिति बनाइएको पनि श्रेष्ठले बताउनुभएको छ ।

बैठकमा दार्चुलाको जयसिंह धामीको घटना अपमानजनक र क्रुर रहेको, बेलायत र नेपाल सरकारबीचमा संवाद एवम् समाधान हुनुपर्ने विषयमा छलफल भएको छ । यसैगरी, कोभिड-१९ महामारीमम सबै जनसमुदायमा खोपको उपलब्धता र यी विविध संकटका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

केन्द्रीय समितिमा उपलब्ध सुझावलाई माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले अन्तिम निष्कर्ष दिने पनि पार्टी प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।


ताजा खबर