अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडे

बिद्रोही तालिबानले राजधानी काबुलमाथि नियन्त्रणको लागि बाहिरी घेरामा पर्खिरहँदा अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपति घानी आइुतबार काबुलबाट बाहिरिएका हुन् ।

अलजजिराले आन्तरिक मामिला मन्त्रालयका एक उच्च अधिकारीलाई उद्धृत गर्दै राष्ट्रपति घानी ताजिकिस्तानका लागि प्रस्थान गरेको उल्लेख गरेको छ । शान्तीपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र सरकारबीच वार्ता तथा सम्वाद चलिरहँदा राष्ट्रपति घानी बाहिरिएका हुन् ।

राष्ट्रपतिको कार्यालयले भने रोयटर्ससँगको कुराकानीमा सुरक्षाको कारणले राष्ट्रपति घानीको गतिबिधि खोल्न नमिल्ने बताएको छ । तालिबानले भने राष्ट्रपति घानीको बर्हिगमनबारे तथ्य जाँच गरिरहेको जनाएको छ । यसअघि सरकारले रक्तपात गर्न नचाहेको भन्दै शान्तिपूर्ण सत्ता हस्तान्तरणको लागि सहमति भएको बताएको थियो ।

ह्जारौंको संख्यामा रहेका तालिबान बिद्रोहीले आइतबार मध्यान्हबाट चारैतर्फ राजधानी काबुललाई घेरा हाल्दै बर्हिगमन र प्रबेश बन्द गरेको थियो ।


ताजा खबर