माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि गर्ने प्रस्ताव

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको छ ।

काठमाडौंको बत्तीसपुतलीमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकमा उहाँले यस्तो प्रस्ताव गर्नुभएको हो । बैठकमा अध्यक्ष प्रचण्डले स्थानीय र प्रदेश स्तरका अधिवेशनहरु सकेपछि पुस ११ देखि पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिनुभयो ।

शनिबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश गर्नुभएको हो । प्रवक्ता श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्डको प्रस्तावमा यही भदौ मसान्तभित्र माओवादी केन्द्रले देशभर पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्ने गर्नेछ ।

त्यस्तै, असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने उहाँले बताउनुभयो । साथै, प्रचण्डले बैठकमा देशभरका सबै वडामा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रस्ताव गर्नुभएको उहाँले बताउनुभयो ।

‘७७ वटै जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने, मंसिर १५ मा प्रदेशको अधिवेशन सम्पन्न गर्ने र माओ दिवसको अवसर पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डले प्रस्ताव गर्नुभएको छ,’ उहाँले भन्नुभयो ।


ताजा खबर