अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने काम तत्काल बन्द गर्न आग्रह

संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गर्नुभएको छ ।

उहाँले आफ्ना सशस्त्र विद्रोही लडाकुलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकु समूहलाई भन्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हालका लागि यो कार्यलाई रोकेर शान्तिपूर्णरुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न हामी आग्रह गर्दछौँ ।”

उहाँले अफगानिस्तानको तालिबान समूहलाई शान्तिपूर्णरुपमा आफ्ना माग राख्न आग्रह गर्दै वार्ताको टेबलमा बस्न पनि आग्रह गर्नुभएको छ ।

हाल तालिबानले अफगानिस्तानमा एकपछि अर्को कार्यालय कब्जा गरिरहेको बताएका छन् । हाल अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्की सकेको छ ।

विदेशी सैनिक फर्किए लगतै तालिबान लडाकुले अफगानिस्तान कब्जा गर्ने गरी कार्यक्रम अघि सारेका छन् र उनीहरू एकपछि अर्को गरेर अघि बढ्दै छन् ।

जसका कारण अफगानिस्तानमा हिंसा भइरहेको छ । तालिबानले शहर कब्जा गर्न सशस्त्र विद्रोह गरिरहेका छन् भने अफगानिस्तानको सेनाले तालिबानका विरुद्ध कारबाही पनि जारी राखेको छ ।

जसका कारण पछिल्ला दुई हप्ता यता मात्र अफगानिस्तानबाट दुई लाखभन्दा बढी व्यक्ति घरबास छोडेर भागेका छन् भने कैयौँ सर्वसाधारण नागरिक सरकारी सेना र तालिबानी लडाकुको भिडन्तमा परेर मारिएका पनि छन् ।

महासचिव गुटर्रेसले बलपूर्वक गरिएका कुनै पनि कार्यको सट्टामा शान्तिपूर्णरुपमा वार्ताको टेबलमा बसेर सबै कुरा गर्न आग्रह गर्नुभएको हो ।

उहाँले वार्ताका लागि तालिबान लडाकुको समूहलाई पनि शान्तिपूर्ण वार्ताको टेबलमा बस्न आग्रह गर्नुभएको छ । –सिन्ह्वा


ताजा खबर