अर्थमन्त्रीको वक्तव्यमाथि सांसदका जिज्ञासा

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका छन् ।

सांसद डा खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उहाँलाई ऋणबिना नै अघि बढ्न लागिएको हो भनी प्रश्न गर्नुभयो । नेपाली काँग्रेसका प्रकाश पन्थले अपाङ्गता भएकाहरूले सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रमिला देवीले पछाडि परेका नागरिकका लागि विशेष व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । सांसद उदया शर्मा पौडेलले गरी खाने वर्गले खोप पाउनुपर्ने बताउनुभयो । सांसद रामनारायण बिडारीले कृषिमा वैदेशिक लगानी भित्र्याउने कि यो क्षेत्रलाई आत्मनिर्भर बनाउने भनी सरकार प्रष्ट हुनुपर्ने बताउनुभयो । सांसद ठगेन्द्र प्रकाश पुरीले अध्यादेश बजेट प्रतिस्थापन विधेयक कहिले आउँछ भनी प्रश्न गर्दै त्यसमा राप्ती लोक मार्गले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद देवेन्द्र दाहालले प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले ल्याएको बजेटभन्दा नयाँ बजेट ल्याउन लागेको कि त्यही बजेटको आकार मात्रै बढाउन लागिएको हो भनी प्रश्न गर्नुभयो । नेकपा (एमाले)की तुलसाकुमारी दाहालले पहिलो पटक कोरोनाको परीक्षण हङकङमा पठाइएकामा अहिले परीक्षण र उपचारमा नेपाल धेरै अघि बढिसकेको बताउनुभयो ।

सांसद भैरव सुन्दर श्रेष्ठ श्वेतपत्रमा यो सरकार पाँच दलीय गठबन्धन भन्ने उल्लेख भएको भन्दै ती दल कुन–कुन हुन भनी प्रश्न गर्नुभयो । नेपाली काँग्रेसकी अनिता देवकोटाले यसअघिको सरकारले अध्ययन नै नगरी भर्चुअल उद्घाटन भएका सडकको अवस्थाका बारेमा जिज्ञासा राख्नुभयो । नेकपा (एमाले)की सांसद भगवती न्यौपानेले माओवादी केन्द्र पटक–पटक सरकारमा संलग्न भएकाले विगतमा भएका कमजोरीको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिनुभयो ।

सांसद डा विमला राई पौडेलले चार महिना बढी भारतले गरेको नाकाबन्दीले अर्थतन्त्रमा नकारात्मक असर गरेको उल्लेख गर्दै गत आवमा कोभिड सङ्क्रमणका कारण राजश्व कम र खर्च बढ्दा सञ्चिती घटेको उल्लेख गर्नुभयो । सांसद कोमल वलीले कोभिडको प्रभाव कृषि, उद्योग, पर्यटनमा कति प¥यो र त्यस विरुद्ध लड्न सरकारको तयारी के छ भन्ने विषयमा अर्थमन्त्री शर्मासँग जानकारी माग्नुभयो ।

सांसद विमला घिमिरेले सामाजिक सुरक्षा कार्यक्रममा के कुरा दोहोरिएको छ भनी प्रश्न गर्दै अघिल्लो सरकारले स्वास्थ्यमा छुट्याएको बजेटले निरन्तरता पाउँछ या पाउँदैन भनी जिज्ञासा राख्नुभयो ।-रासस


ताजा खबर