एडिविद्वारा १९ अर्ब ५८ करोड सहुलियत ऋण सहयोग

एशियाली विकास बैङ्कले नेपाललाई कोरोना विरुद्धको खोप किन्नका लागि १९ अर्ब ५८ करोड सहुलियत पूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ ।

सहयोग सम्बन्धी सम्झौता पत्रमा आज नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि एशियाली विकास बैङ्कका देशीय निर्देशक आनो कुस्वाले हस्ताक्षर गर्नुभएको छ ।

बैङ्कको सो ऋण सहयोग रकम कोभिड विरुद्धको १ करोड ५९ लाख डोज खोप किनेर नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुर्‍याउने कार्यमा प्रयोग गरिने छ । सो खोप किनेर ६ लाख ८० हजार जनताले फाइदा प्राप्त गर्नेछन् ।

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि सहयोग महत्त्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नेपाली नागरिकको जीवन सुरक्षा गर्दै समग्र अर्थतन्त्रको पुनर्स्थापना गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, सम्झौता कार्यक्रममा नेपालका लागि एशियाली विकास बैङ्कका देशीय निर्देशक आनो कुस्वालले कोभिड–१९ को सङ्क्रमणबाट नेपालको सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असरलाई व्यवस्थापन गर्न नेपाल सरकारलाई पुर्‍याएको सहयोगलाई बैङ्कले निरन्तरता दिने जानकारी गराउनुभयो । 

एशियाली विकास बैङ्कले कोभिड रेस्पोन्स आयोजनामार्फत नेपाललाई कोरोना विरुद्धको अभियानमा सहयोग  पुर्‍याउँदै आएको छ । 

कार्यक्रममा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखाका प्रमुख सहसचिव धनिराम शर्मा लगायतका कर्मचारीहरू र एशियाली विकास बैकका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो । 


ताजा खबर