राष्ट्रिय टोलीका पूर्वकप्तान पारश खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

राष्ट्रिय टोलीका पूर्वकप्तान पारश खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्‍न्यास लिएको घोषणा गरेका छन्।

मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत सन्न्यास लिएको घोषणा गरेका हुन्। खड्काले भनेका छन्, ”सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्‍न्यास लिने निर्णय लिएको छु।”

उनले १५ वर्षको उमेरदेखि खेल्न थालेका थिए। सन् २००२ बाट खेल्न थालेका खड्काले १९ वर्षपछि सन्‍न्यास लिएका हुन्। उनले भनेका छन्, ”नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।”

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि नेपाली क्रिकेटमा भने लागिरहने जनाएका छन्। उनले भनेका छन्, ”अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुंगिएको छ, तर नेपाली क्रिकेटको लागि मेरा सपना भने अझै पनि बामे सर्दै छन्।”

सबै मिलेर अब नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने उनको भनाइ छ। उनले अन्तिममा भनेका छन्, ”मैदानभित्रका यी दुई दशक, जीवन रहुन्जेल मीठो यादका रूपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछौं भन्ने विश्वास लिएको छु।”




ताजा खबर