थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर कोरोना भाइरसबाट ३ हजार १ सय २५ जना संक्रमित भएका छन् । 


१० हजार ६ सय १३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार २ सय ७९ तथा ३ हजार १ सय ९८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ४६ जना गरी जम्मा ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 
देशभरबाट गएको २४ घण्टामा १ हजार ९ सय २५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ५८ हजार १ सय २२ जना निको भएको मन्त्रालयले जनाएको छ । 


आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव १ प्रतिशत रहेको छ । 


देशभरि आज कोरोना सङ्क्रमणबाट २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ८ सय ९८ पुगेको छ । 


देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३१ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । जसमा ६ सय ९० जनाले आइसियु र १ सय ७५ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 


सरकारले कोरोना सङ्क्रमणको महामारीलाई नियन्त्रण गर्न जारी राखेको खोप कार्यक्रममा गत २४ घण्टाभित्र १ लाख ८१ हजार २५ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


ताजा खबर