दार्चुला घटनामा सरकार गम्भीर छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक नेपालीको मृत्यु भएको घटनामा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री खाडले  तुइनबाट महाकाली नदी पार गर्ने क्रममा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको बारेमा सत्य तथ्य पत्ता लगाउने बताउनु भयो ।

साउन १५ शुक्रवार बिहान तुइनबाट महाकाली नदी तर्ने क्रममा बेपत्ता भएका धामीको नेपाली र भारतीय दुवै पक्षबाट खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । 

मन्त्री खाडले घटनाबारे स्थलगत अध्ययन गरी सत्य तथ्य पत्ता लगाउन  गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरिएको र टोलीलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय तोकिएको समेत जानकारी दिनुभयो । उहाँले छानबिन प्रतिवेदनका आधारमा सरकारले कदम चाल्ने पनि बताउनुभयो । 

गृहमन्त्री खाडले धनुषा जिल्ला प्रहरी कार्यालयमा एकजना बन्दीको मृत्यु भएको विषयमा पनि सरकारको ध्यानाकर्षण भएको र अनुसन्धान भइरहेको जानकारी गराउनु भयो । 

यसै गरी गृहमन्त्री बालकृष्ण खाडले प्राकृतिक विपद्का कारण देखिएको चुनौती सामना गर्न र जनताको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री खाडले जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछिको बाढी पहिरो र डुबानबाट सिन्धुपाल्चोक, मनाङ, गोरखा लमजुङ, कास्कीलगायत ५५ जिल्ला प्रभावित बनेको छ । 

उहाँले बाढी र पहिरोमा परि हालसम्म ६६ जनाको मृत्यु भएको, ४० जना र बेपत्ता भएको र ८१ जना घाइते राष्ट्रिय सभामा जानकारी गराउनु भयो ।

गृह मन्त्री खाडले असार १ गते मेलम्चीमा आएको बाढीले पुर्‍याएको क्षतिपछि क्षति र नोक्सानीको तथ्याङ्क सङ्कलन र आङ्कलन गर्ने काम भइरहेको अवस्थामा साउन १६ र १७ गते पुन बाढी आई ५३ वटा घर १ वटा पक्की पुल र १ वटा झोलुङ्गे पुल र १ वटा सामुदायिक भवन क्षति भएको जानकारी समेत दिनुभयो । 

उहाँले हेलम्बु क्षेत्रमा जाने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएकाले वैकल्पिक सडक मार्ग काठमाडौँ–सुन्दरीजल, पाथी भञ्ज्याङ–चित्रे सडकमार्ग साँगा हुँदै मेलम्ची खानेपानीको सुरुङ मार्गसम्म पुग्ने सडक सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिइएको पनि सदनमा जानकारी दिनुभयो ।


ताजा खबर