३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

 देशभर कोरोना भाइरसबाट ३ हजार ८ सय ४० जना संक्रमित भएका छन् । 


१० हजार ८ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ६ सय ३४ जना तथा ४ हजार ९ सय २२ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार २ सय ६ जना गरी जम्मा ३ हजार ८ सय ४० जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो । 


यसैगरी काठमाडौँ उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा भक्तपुरमा ९४, ललितपुरमा २ सय ६ र काठमाडौँमा ५ सय ५९ जनामा गरी ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले बताउनुभयो ।


देशभरबाट गएको २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ३ प्रतिशत रहेको छ । 


देशभर कोरोना सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७ सय ९१ पुगेको छ । 


देशभरिका होम आइसोलेसनमा २६ हजार ६ सय ५२ र संस्थागत आइसोलेसनमा २ हजार ७ सय ९२ जना गरी जम्मा २९ हजार ४ सय ४४ जना सक्रिय सङ्क्रमितले कोरोना सङ्क्रमणको उपचार गराइरहेका छन् । 


जसमा आइसियुमा ६ सय ११ जना र भेन्टिलेटरमा १ सय ६८ जनाले उपचार गराइरहेको मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो । 


बालबालिका केन्द्रित तयारी थाल्न अस्पताललाई निर्देशन यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरलाई ध्यानमा राख्दै बालबालिकालाई केन्द्रमा राखेर अहिले नै तयारी थाल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । 


मन्त्रालयले आज गरेको नियमित प्रेस विफ्रिङमा सह प्रवक्ता डा.समीर अधिकारीले कोरोना सङ्क्रमणको सङ्ख्या दैनिक उकालो लागिरहेको र उपलब्ध कोरोना विरुद्धको खोप बालबालिकाले लगाउन नमिल्ने र व्यवहार परिवर्तनले गर्दा तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले सबैलाई सतर्क बन्न आग्रह गर्नुभयो । 


मन्त्रालयले हिजो मात्रा देशका विभिन्न भागबाट सङ्कलन गरिएका ४७ नमुनाको जिन सिक्वाएन्स गर्दा सत प्रतिशतमा डेल्टा भाइरस भेटिएको र ती मध्ये ६ प्रतिशतमा डेल्टा भाइरसकै उत्परिवर्तित रूप डेल्टा प्लस भेटिएको जानकारी दिएको थियो । 


कोरोना भाइरसका प्रजातिमध्ये डेल्टा भाइरसले छिटो संक्रमण गराउने भएकाले  व्यक्तिहरू आफै सचेत बन्नुपर्ने सह प्रवक्ता डा. अधिकारीले बताउनुभयो ।


ताजा खबर