अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो ।

जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ ।

बेलायत तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक रजत र तीन कास्यका साथ सातौँ, कोशोभो दुई स्वर्ण जित्दै आठौँ, इटाली एक स्वर्ण, तीन रजत र चार कास्यसहित नवौँ तथा फ्रान्स एक स्वर्ण, दुई रजत र दुई कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तिमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसक्नुभएको छ । दुवै जना पराजित हुनुभएको छ । परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुहुनेछ । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नुहुनेछ । –रासस


ताजा खबर