जनता समाजवादी पार्टी यादव पक्षलाई आधिकारिकता

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।


जसपाको ५१ केन्द्रीय कार्यकारिणी समिति मध्ये उपेन्द्र यादवको पक्षमा ३४ सदस्य रहेकाले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिइएको निर्वाचन आयोगले जनाएको छ ।

उपेन्द्र यादवको पक्षमा ३४ कार्यकारिणी सदस्य, महन्थ ठाकुर पक्षमा १६ र १ जना तटस्थ रहनु भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


जसपाका अध्यक्ष द्वय यादव र महन्थ ठाकुर पक्षबिच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आज आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।


ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने पनि आयोगले फैसला गरेको छ ।


जसपाको आधिकारिकता विवाद निरूपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा सोमबार बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । 


आयोगले जसपाको आधिकारिकता विवाद निरूपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानुनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेस भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।

जसपा सरकारका जान्छ: यादव

निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । 


उहाँले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताउनुभएको हो ।


जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका जनताका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेसका मुद्दा र अधिकारका लागि जनताको साथ लिएर अघि बढ्ने बताउनुभयो । –रासस


ताजा खबर