वीरगञ्ज नाका भएर ४२ अर्बको धान,चामल र गेडागुडी आयात

गत आर्थिक वर्षमा वीरगञ्ज नाका भएर करिब ४२ अर्ब रुपियाँ बराबरको धान,चामल र गेडागुडी आयात भएको छ ।

गत आर्थिक वर्षमा वीरगञ्ज नाका भएर बिभिन्न मुलुकबाट ४१ अर्ब ९३ करोड रुपियाँको धान,चामल र गेडागुडी आयात भएको हो ।

वीरगञ्ज नाकामा रहेका वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङ्क अनुसार भारत तथा तेश्रो मुलुकबाट करिब ४२ अर्ब रुपियाँ बराबरको धान, चामल, गहुँ, मकै, भटमास, फापर, कोदो, चना, केराउ, बोडी र सिमीका गेडा लगायतका खाद्यान्न आयात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा वीरगञ्ज भन्सार भएर १८ अर्ब १६ करोड ४८ लाख ३८ हजार रुपैयाँ र सिर्सिया सुख्खा बन्दरगाह भन्सार भएर २३ अर्ब ७६ करो रुपियाँको खाद्यान्न आयात भएको हो ।

आयात भएको खाद्यान्नमा सबैभन्दा बढी ३० लाख ३४ हजार ९६२ मेट्रिक टन धान आयात भएको देखिन्छ । ३० लाख ३४ हजार ९६२ मेट्रिक टन धान ८ अर्ब ८१ रुपैयाँमा खरिद गरी आयात भएको तथ्याङ्कले देखाएको छ ।

धान मात्र होईन आर्थिक वर्ष २०७७÷०७८ मा वीरगञ्ज नाका भएर ५८ हजार ८९५ मेट्रिक टन चामल आयात भएको छ । त्यस्तैगरी वीरगञ्ज नाका भएर ६४ हजार ७ सय १० मेट्रिक टन गहुँ , एक लाख ४ हजार २ सय १५ मेट्रिक टन भटमास , ७ लाख ४ हजार ३ सय ८८ मेट्रिक टन मकै आयात भएको छ । त्यस्तैगरी ८० हजार १ सय ४७ मेट्रिक टन केराउ , ५३ हजार ७ सय ७२ मेट्रिक टन सिमी , ६२ हजार ७ सय ६ मेट्रिक टन चना , १३ हजार ५ सय ५६ मेट्रिक टन फापर र कोदो समेत वीरगञ्ज नाकाबाट भित्रिएको छ ।

नेपालमा हुने उत्पादनले नपुग्ने भएपछि भारत, श्रीलंका , रसीया, टर्की, भियतनाम, ब्राजिल, अर्जेन्टिना, चीन, क्यानाडा, अष्ट्रेलिया, थाइल्याण्ड, जापान , अमेरिका , लगायतका मुलुकबाट धान, चामल, गहुँ, मकै , चना , केराऊ लगायतका खाद्यान्न आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा भारत तथा तेश्रो मुलुकबाट वीरगञ्ज नाका भएर ३९ अर्ब ७८ करोड ४८ लाख ९५ हजार १ सय ३९ रुपैयाँको खाद्यान्न आयात भएकोमा आर्थिक वर्ष २०७७÷०७८ मा वीरगञ्ज नाका भएर ४१ अर्ब ९३ करोड ३९ लाख ५५ हजार ५ सय ४७ रुपैयाँको आयात भएको छ ।
यस नाका भएर खाद्यान्न आयात हरेक वर्ष बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७६/०७७ को भन्दा आर्थिक वर्ष २०७७÷७८ मा करिब साढे २ अर्ब भन्दा बढी मुल्यको खाद्यान्न वीरगञ्ज नाका हुँदै आयात भएको हो । –रासस


ताजा खबर