एउटा बिहानी हुनेछ

~डा.स्वस्तिका अधिकारी

जब मान्छेहरूको काँधमा अक्सिजन सिलिन्डर होइन अफिसको ब्याग हुनेछ,

गल्लीमा एम्बुलेन्स होइन स्कुल भ्यान दौडिने छन्,

अनि भिड औषधी पसलमा होइन चिया पसलमा हुने छ,

एउटा बिहानी हुनेछ

जब पत्रिकासॅंग बेसार पानी होइन चिया पाइने छ,

हजुरबुवा बाहिर निस्केर निष्फिक्री मर्नवङ वाक गर्नु हुनेछ,

अनि हजुरमुवा कौसीमा होइन मन्दिर मै गएर जल चढाउनु हुनेछ,

एउटा बिहानी हुनेछ

जब हाथमा क्यारम वा लुडो होइन फुटबल वा क्रिकेट हुनेछ,

चौरमा शान्ति होइन हल्ला हुनेछ,

शहरको निशेधज्ञा हट्ने छ र फेरी चाडपर्व हुनेछ,

एउटा बिहानी हुनेछ

जब मानिसहरू अघाउनजेल अंकमाल गर्ने छन्,

तितो संझनाहरू बिर्सिएर फेरी मुस्कुराउने छन्,

र संसारलाई भन्ने छन् आँखा तल गर हामी फेरी आएका छौ।

एउटा बिहानी हुनेछ ?

#weshallovercomesomeday


ताजा खबर