कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

 राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको हो ।


बोर्डका अध्यक्ष पौडेलले सय पूर्णाङ्ककै परीक्षा भौतिक उपस्थितिमा हुने जानकारी दिनुभयो । परीक्षा बिहान ११ बजेबाट २ बजेसम्म सञ्चालन हुनेछ ।

विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । गत जेठ २६ गतेदेखि सुरु गर्ने गरी तय भएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । 


गत वर्ष बोर्डले ४० प्रतिशतका लागि लिखित परीक्षा लिएर, ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र बाँकी २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो । 

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेका स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेर  जेड आकारमा परीक्षार्थीलाई राखी परीक्षा सञ्चालन गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।  


परीक्षा अवधिमा गाईजात्रा र जनै पूर्णिमाको दिन बिदा दिएर शनिबार भने परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । 


ताजा खबर