‘हिंसा न्यूनीकरण विद्यालय तहदेखि नै गर्नुपर्छ’ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले सामुदायिक विद्यालयमा भएको लगानी अनुसारको प्रतिफल आउने गरी काम गर्नुपर्ने सुझाव पनि दिनुभएको छ ।

राष्ट्रपति भवनमा आइतबार आयोजित छलफल कार्यक्रममा उहाँले हिंसा न्यूनीकरण गर्न विद्यालय तहदेखि नै भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सबैका लागि शिक्षाको अवधारणा कार्यान्वयन गर्दै लगानीअनुरूपको प्रतिफल हासिल गर्नुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको लगानीको नतिजा निस्कनुपर्यो ।” शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हुन नसकेकोमा गम्भीर बन्दै उहाँले भन्नुभयो, “विद्यालय तहमा अध्ययनरत बालबालिकाको व्यक्तित्व विकास गर्न कसले रोकेको छ ? कानुनले राम्रो काम गर्न रोक्छ जस्तो लाग्दैन”, उहाँले यस क्षेत्रमा भएका नीतिगत व्यवस्था लागू गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराउनुभयो ।

उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । शिक्षा र स्वास्थ्यमा वर्गविभेद हुन नहुने धारणासमेत व्यक्त गर्नुभयो ।

देशको इतिहास, संस्कृति, पहिचान, भाषा विद्यार्थीले बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ । सम्पूर्ण समाज यसको महìवपूर्ण सरोकारवाला पक्ष हो । तसर्थ विद्यालय र सामाजिक सङ्गठनहरूले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्छ भने सरकारका सम्बन्धित निकायहरूले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षामा नयाँ परिवर्तनको खाँचो रहेको चर्चा गर्दै भन्नुभयो, “हामी नयाँ परिवर्तनको सोचमा छौँ । नयाँ ऐनसहित अगाडि बढ्नुपर्छ”, उहाँले नीतिगत सुधारका लागि उच्च स्तरीय विज्ञसहितको कार्यदल बनाएर अगाडि बढ्ने स्पष्ट गर्नुभयो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित भएका विद्यालयहरूको समस्याप्रति  सरकार गम्भीर भएको र समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । –रासस


ताजा खबर