प्रधानमन्त्रीद्वारा झापामा औद्योगिक पार्कको शिलान्यास

नेपालमा औद्योगिक विकासको सुरुवात भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको तीन स्थानीय तह (दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका)मा बन्ने औद्योगिक पार्कको आज शिलान्यास गर्नुभएको छ ।

करिब २३ सय बिगाहा क्षेत्रमा निर्माण हुने भनिएको चिन–नेपाल मैत्री पार्कको उहाँले आइतबार शिलान्यास गर्नुभएको हो । त्यस्तै उहाँले आइतनबार नै दमक भण्डारी राजमार्गमा पर्ने करिब ३० वटा पुलको एकैसाथ शिलान्यास गर्नुभएको छ ।

यस्तै उहाँले दमक नगरपालिका र इलामको चुलाचुली जोड्ने करिब ३०० मिटर लामो रतुवा खोलाको पुलको समेत उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दमक नगरपालिका र कमल गाउँपालिका आमबाडी जोड्ने करिब २५० मिटर लामो पक्की पुलको पनि आजै उद्घाटन गर्नुभएको छ ।

झापाको दमक क्षेत्रमा बन्ने चिन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा औद्योगिक विकासको सुरुवात भएको बताउनुभयो । पछिल्ला समयमा नेपालमा विकास निर्माणको कार्यले द्रुत गति लिएको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग चाँडै वार्ता गर्ने पनि बताउनुभयो । शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि छिट्टै वार्ताद्वारा समाधान गर्ने उहाँले बताउनुभयो ।झापामा बन्ने औद्योगिक पार्कको लागत करिब ६३ अर्ब रहेको छ । औद्योगिक पार्क निर्माणका लागि पहिलो चरणमा २ अर्ब बजेट रहेको जनाइएको छ ।

त्यस्तै दुई वर्षभित्र पार्क निर्माणले उल्लेख्य गति लिने र ४५ हजारले रोजगारी पाउने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।उहाँले ५ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने र १० वर्षमा दशौँ लाखले रोजगारी पाउने बताउनुभयो । –रासस


ताजा खबर