अमेरिकाद्वारा कोरोना विरुद्ध जोन्सन एण्ड जोन्सनको खोप आपतकालीन प्रयोग अनुमति

कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष अझै समाप्त भइनसकेको बताउनुभयो । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको छ ।

राष्ट्रपति बाइडेनले जारी गर्नुभएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ । एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेज पारित गरेसँगै जोन्सनको खोपले पनि अमेरिकी एफडीएबाट स्वीकृति पाएको छ ।

राहत प्याकेजमा खोप आपूर्ति र ढुवानी गर्ने, विद्यालय पुनः खोल्ने तथा स्थानीय सरकारलाई थप राहत दिने लगायत आर्थिक संकटबाट जुधिरहेका अमेरिकीलाई सोझै १४०० डलर राहत दिने कुरा समेटिएको छ ।

यो प्रस्तावलाई अब सिनेटले पारित गर्नुपर्नेछ । अमेरिकी प्रशासनले कोभिड विरुद्ध जुध्न यसअघि पनि २२ खर्ब डलरको आर्थिक राहत प्याकेज स्वीकृत गरिसकेको छ । अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हालसम्म झण्डै पाँच लाख व्यक्तिको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक हजार ८४९ जनाको ज्यान गएको थियो ।यसैबीच, युरोपेली मुलुकहरुमा कडा लकडाउन गरिएका छन् । फ्रान्समा अझ कडा लकडाउन गरिएको छ ।

बेलायतमा यसै महिनाको शुरुमा १०० वर्षीय पूर्व योद्धा टम मूरको कोरोनाभाइरस संक्रमणकै कारण निधन भएको छ । उहाँले गतवर्ष कोभिड–१९ का कारण स्वास्थ्य संस्थाका लागि चार करोड ५० लाख अमेरिकी डलर चन्दा संकलन गरेर रेकर्ड बनाउनुभएको थियो । –रोयटर्स


ताजा खबर