चीन गरिबीमुक्त भएको राष्ट्रपति सी जिङपिङको घोषणा

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गरेको छ ।

राजधानीको बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आयोजित सभामा राष्ट्रपति सी जिङपिङले यस्तो घोषणा गरेका हुन् ।

चिनियाँ विशेषतासहितको मापदण्डअनुसार १० करोड नागरिकलाई गरिबीबाट बाहिर निकालिएको राष्ट्रपतिले उल्लेख गरे ।

सन् २०१२ मा राष्ट्रपतिको कार्यभार सम्हालेपछि सीले गरिबी निवारण आफ्नो एजेन्डा भएको बताउँदै आएका थिए । घोषणामा उल्लेख भएअनुसार चीनका ८३२ वटा गरिब जिल्ला, १ लाख २८ हजार गाउँ गरिबमुक्त भएका हुन् ।

चिनियाँ संचारमाध्यमले यसलाई मानव इतिहासकै ठूलो काम भनेर भनिरहेका छन् । तर, पश्चिमा संचारमाध्यमले चाहिँ चिनियाँ मापदण्डको गरिब निवारणमा भने आशंका गरिरहेका छन् ।

आफ्नो योजना सफल बनाउन राष्ट्रपति सीले आठ वर्षको अवधीमा चीनका १४ वटा गरिब क्षेत्रको भ्रमण गरेका थिए । दिगो बिकासको लक्ष्यभन्दा १० वर्ष अगाडि नै पुरा भएको भन्दै यसलाई उपलब्धी मानिएको छ ।

चीनले गरिबी निवारण गर्दा विश्वको गरिबी निवारणमा ७० प्रतिशत योगदान पुगेको बताइएको छ । –रासस/सिन्ह्वा


ताजा खबर