तेस्रो बर्दिबास महोत्सव आयोजना हुने

महोत्तरीको बर्दिबासमा तेस्रो बर्दिबास महोत्सव–२०७७ को आयोजना हुने भएको छ ।

बर्दिबास उद्योग वाणिज्य सङ्घ बर्दिबासको आयोजनमा अगामी फागुन २५ गतेदेखि चैत्र ८ गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ । महोत्सव १३ दिनसम्म सञ्चालन हुनेछ ।

कोरोना महामारीले सुस्ताएको व्यापार–व्यवसायलाई चलायमान बनाउन व्यापार प्रबद्र्धनमा महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ ।

“कोरोना महामारीले हामी व्यवसायी एक किसिमले थला नै परेका छौँ । आयोजना गरिन लागेको महोत्सवले कृषि उपज, होटल, पर्यटन क्षेत्रको प्रबद्र्धनमा पक्का सहयोग पुग्छ,’ बर्दिबास उद्योग वाणिज्य सङ्घ बर्दिबासका महासचिव भवनाथ खतिवडाले पत्रकार सम्मेलनमा भन्नुभयो ।

महोत्सवको उद्घाटन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबाट गरिने महासचिव खतिवडाले  जानकारी दिनुभयो । महोत्सवमा १ सय ५० स्टल राखिने छ भने डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव आयोजनामा ३५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

बर्दिबासको कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार प्रवर्द्धनका लागि महोत्सवको आयोजना गर्न लागिएको बर्दिबास उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।

स्थानीय बस्तुहरूको प्रदर्शनी, व्यावसायिक स्टल, अत्याधुनिक खेल सामग्री, चर्चित कलाकारको प्रस्तुतीकरण रहने महोत्सव अवलोकन गर्न प्रति टिकट ५५ रुपैंया तिर्नु पर्ने शुल्क राखिएको छ  ।


ताजा खबर