सहिद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी शीर्ष तीनमा

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जित निकालेको छ ।

बुधबार भएको खेलमा बाँसबारीले टुसाल युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बाँसबारीलाई जित दिलाउन भीष्मराज घिमिरेले दुई गोल गरे ।

अनिल गुरुङको नाममा एक गोल रह्यो ।

टुसालका सुनिल धामीले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा भीष्मराजले गोल गर्दै बाँसबारीलाई अग्रता दिलाएका थिए ।

खेलको ३४ औं मिनेटमा भीष्मराजले व्यक्तिगत दोस्रो गोल गरेपछि बाँसबारीको अग्रता २-० को बनाए ।

खेलको ५४ औं मिनेटमा अनिलले गोल गर्दै बाँसबारीको अग्रता ३-० को बनाए ।

त्यसपछि खेलको ७० औं मिनेटमा टुसालका सुनिलले एक गोल फर्काएपनि बाँसबारी ३-१ ले विजयी भयो ।

यस्तै खेलको ८८ औं मिनेटमा टुसालका एलोन राईले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार बाँसबारीका गोलकिपरले बचाए ।

जितसँगै बाँसबारीले ६ खेलमा १४ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

टुसालले ६ खेलमा ८ अंक जोडेको छ । टुसाल लिगको छैटौं स्थानमा रहेको छ । –रासस


ताजा खबर