युवाहरूलाई राष्ट्र निर्माणमा सङ्गठित हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणमा युवाहरू चेतनशील भई सङ्गठित हुनु आग्रह गर्नुभएको छ ।

नेकपा निकट युवा सङ्घ नेपालले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा युवाहरूको सक्षम र सशक्त भूमिका आवश्यक रहेको बताउनुभयो ।

युवा सशक्तीकरणका लागि सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले त्यसबाट लाभ लिन समेत युवाहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पद र सत्ताका लागि गुटबन्दी गर्ने र नेतृत्वलाई असफल बनाउन खोज्ने समूहले पार्टी छोडेर गएका कारण आफ्नो पार्टीमा युवा–कार्यकर्ताको आकर्षण बढ्दै गएको समेत बताउनुभयो ।

कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको दिगो विकासका लागि युवाको नेतृत्व विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले क्षणिक प्रलोभन र झुट्टा आश्वासनको पछाडि नलाग्न युवालाई आग्रह गर्नुभयो । –रासस


ताजा खबर