कुनै अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कुनै अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नु भएको छ ।

नेकपा १ नम्बर प्रदेश कमिटीले विराटनगरमा शनिवार आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन हुने भएकाले अबको निर्वाचनमा लोकतन्त्र, विकासवादी शक्ति र समृद्ध नेपाल बनाउने शक्तिलाई चुनावमा जिताउन आग्रह गर्नुभयो ।

उहाँले देश भाँड्ने  र अरूको इसारामा पार्टी फुटाउन खोज्नेलाई जनताले परास्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।प्रधानमन्त्रीले आफूले २०४७  सालमा निर्वाचन आयोगमा सूर्य चिन्ह दर्ता गराएको, सधैँ सूर्य चिन्हबाट नै आफू चुनावमा उठ्ने गरेको भन्नुहुँदै अहिलेसम्म प्रचण्डले सूर्य चिन्हमा कहिले पनि चुनाव नलडेको र अहिले सूर्य चिन्ह आफूले पाउनुपर्छ भन्नु प्रचण्डको बाल हठ भएको बताउनुभयो ।

उहाँले केही मानिसहरू यो पार्टीलाई सिध्याउनका लागि फुटको ख्यातिमा तल्लीन भएको र प्रचण्डले राजनीतिमा गलत बाटो रोजेको बताउनुभयो ।

दुई तिहाइ नजिकको सरकारलाई काम गर्न नदिने, काम गर्दा पनि हरेक विषयमा अवरोध पुर्‍याउन खोजेकाले आफूले जनताका बीच ताजा जनादेशमा जाने निर्णय गरेको उहाँको भनाई थियो ।उहाँले करकापमा झुक्क्याएर पार्टीबाट अलग भएकाहरूलाई पुन पार्टीमा आउन आग्रह गर्नुभयो । प्रधानमन्त्रीले जनताले गरेको विश्वासको धागो नटुटाउन आग्रह गर्नुहुँदै पार्टीमा पुन सहभागी हुन आग्रह गर्नुभयो ।

गुह मन्त्री रामबहादुर थापा बादलले अस्थिरताको अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानु बाहेक अर्को विकल्प नभएको बताउनुभयो ।केही लोभी पापी र अवसरवादी शक्तिहरूले भ्रम फैलाउन खोजिरहेको भन्नुहुँदै गुह मन्त्री थापाले भ्रममा नपर्न नेपाली जनतालाई आग्रह गर्नुभयो ।

नेकपाका नेता एवम् पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङले नेपाली जनताले निर्वाचन चाहिसकेको र राजनैतिक दलहरू पनि निर्वाचनमा जुटिसकेकाले निर्वाचनको विकल्प नभएको बताउनुभयो ।प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको अवस्थाबाट मुलुकलाई अगाडी बढाउन पनि निर्वाचन आवश्यक रहेको बताउनुभयो । –रासस


ताजा खबर