‘गरिमा विकास बैंकलाई चाँडै ‘क’ वर्गको बैंक बनाउदैं छौं ‘

गोविन्द ढकाल ,प्रमुख कार्यकारी अधिकृत (सीईओ)

गरिमा विकास बैंकको यहाँसम्मको यात्रालाई कसरी सम्झनुहुन्छ ? 

आज हामी कुरा गरिरहँदा यो बैक १४औं बर्षमा संचालन भइरहेको छ । २०६४ सालमा स्याङ्ग्जाको वालिङबाट ९ जनाले शुरु गरेको बैंक सहरी क्षेत्र हुँदै अहिले देशभर विस्तार भएको छ । ग्रामिण क्षेत्रबाट २ करोड ६५ लाख पूँजीमा खोलेको बैंकका अहिले देशभर १०६ वटा शाखा, जसमा ५५ देखि ६० प्रतिशत शाखाहरु गाउँपालिका र भर्खर नगरपालिका बनेका ग्रामिण क्षेत्रहरुमा छन् । बाँकी शाखाहरु काठमाडौं उपत्यका लगायत देशका सबै ठूला सहरहरुमा रहेका छन् । अहिले बैंकको क्यापिटल ३ अर्ब २५ करोड पुगेको छ । सानो बिजनेशबाट सुरु भएको हाम्रो यात्रामा अहिले हाम्रो पोर्टफोलियो १ खर्ब पुगेको छ ।

छोटो समयमा बैंक तथा वित्तीय क्षेत्रमा हामीले बलियो उपस्थिति जनाएका छौं । प्रत्यक्ष १२ सयलाई रोजगारी र हाम्रा ५ लाख ग्राहकहरु मध्ये ३० हजार ऋणीहरुले अप्रत्यक्ष रोजगारी पाईरहनु भएको छ । 

बीचमा धेरै उतारचढावहरु आए, धेरै बैंक तथा वित्तीय संस्थाहरु लिमिटेशनमा गए । तर हामी ग्रामिण क्षेत्रबाट सानो निक्षेपसहित आएपनि त्यस्तो समस्या भएन । हाम्रो वचत अपडाउन हुने खालको थिएन, गाउँघरहरुबाट हजार, लाखका दरले निक्षेप संकलन भएकाले पनि त्यस्तो समस्या हामीले भोग्न परेन ।

आजका दिनसम्म आइपुग्दा नाफाका हिसाबले अरुभन्दा केही पछाडि हामी हुन सकौंला तर संस्थागत सुशासन, कर्मचारीको मेहनत तथा सञ्चालक समिति तथा सरोकारवालाहरु सबैको सहयोग सद्भावले गर्दा हामी अग्रणी स्थानमा छौं । विकास बैंकहरुमा हामी अग्रणी बन्दै उच्च गरिमाका साथ अघि बढिरहेका छौं । यसलाई अझै सबल बनाएर जाने गरी हामीले काम गरिरहेका छौं । सेवा विस्तार र प्रविधिमैत्री वित्तीय सेवा वृद्धिका लागि हामीले काम गरिरहेका छौं ।

गाउँ गाउँमा प्रविधिमैत्री सेवा सञ्चालनका लागि अब हाम्रो ध्यान केन्द्रित भएको छ । त्यसै अनुसार सेवा प्रबाह गर्नका लागि बजेटमा योजना नै राखेर हामीले काम समेत अघि बढाईसकेका छौं ।

१४ वर्षको अनुभवका दौरान हामीले आजसम्म सम्पत्ति लिलाम गर्नुपर्ने अवस्था आएको छैन, यो हाम्रो सबल पक्ष हो । यो अवधिमा हामी सन्तुष्ट छौं ।

बैंकको अबको लक्ष्य के छ ?   

५ वर्ष अगाडि नै हामीले गरिमा विकास बैंकलाई २०८० साल सम्ममा गरिमा बैंक बनाउने बिजनेस प्लान बनाएका थियौं । सोहीअनुसार पूँजी वृद्धि गरेर हामीले काम पनि गरिरहेका छौं ।

तर पूँजी वृद्धि गरी बैंक मर्जरमा जानुपर्ने, विकास बैंकलाई वाणिज्य बैंकको लाइसेन्स दिन नसकिने भन्ने कुरा आएपछि हामीलाई हाम्रो लक्ष्य प्राप्तिमा केही कठिनाइ भएको हो ।

हाम्रो योजना त गरिमा बैंक नै बन्ने हो । विकास बैंकबाट ‘क’ बर्गको बैंकमा जाने हाम्रो पूर्ववत् योजना अनुसार पूँजी बृद्धि गर्ने, अन्य बैंक तथा बित्तिय संस्थाहरुलाई मर्ज गर्ने र ठूलो बन्ने रणनीतिका साथ हामीले काम गरिरहेका छौं । यस्मा नियमनकारी निकायको साथ सहयोग र नीति सहयोगी बन्छ भन्ने हामीले बिश्वास लिएका छौं । भोलि नीतिले दिएको खण्डमा तत्काल क बर्गको बैंक बन्नका लागि हामी तयार रहेको अवस्था छ ।

अहिले पनि हाम्रो सेवा कुनै ‘क’ वर्गको वाणिज्य बैंकको भन्दा कम छैन, तर पनि विकास बैंक भनेपछि जुन बुझाइ सर्वसाधारणमा रहेको छ त्यसलाई चिर्नका लागि हामीले नीतिले दिएअनुसार विकास बैंकबाट कमर्सियल बैंकमा स्तरोन्नति गर्नेगरी योजना बनाएर काम गरिरहेका छौं ।

स्थापना हुँदा देखिकै ‘क’ बर्गको बैंक नै बन्ने भन्ने हाम्रो लक्ष्यमा प्रतिबद्ध रहँदै त्यही गन्तब्यमा पुग्ने गरी हाम्रा कर्म र यात्राहरुलाई अघि बढाईरहेका छौं ।

बैंकको शाखा विस्तार गर्ने योजना के भइरहेको छ ?

अघिल्लो वर्षको निर्णय अनुसार हाम्रा सबै शाखा सञ्चालनमा आइसकेका छन् । चालू आर्थिक वर्ष सकिन अब ६ महीना बाँकी छ, तर यो वर्ष हामी जहाँसम्म नयाँ शाखा विस्तार गर्दैनौं । कोभिडका कारण अवस्था सामान्य भइनसकेकाले अहिले थप शाखा विस्तार गर्ने योजना छैन । आगामी वर्ष भने हाम्रो पहुँच नभएका सबै ठाउँतिर शाखा विस्तार गर्ने योजना बनाएर त्योअनुसार काम पनि गरिरहेका छौं । अहिले प्रदेश १ र २ मा हाम्रो उपस्थिति अलि पातलो छ, त्यहाँ पनि शाखा विस्तार गर्ने हाम्रो योजना छ । गरिमाको पहुँच नपुगेका ठाउँमा देशभर शाखा विस्तार गर्ने योजनासहित हामीले काम गरिरहेका छौं ।

बैंकका तर्फबाट वित्तीय साक्षरताका लागि के कस्ता कार्यक्रमहरु भईरहेका छन् ? 

डेढ वर्ष अगाडिदेखि नै लगातार हामीले सबै ठाउँतिर सम्बन्धित उद्योग वाणिज्य संघ, गाउपालिका, नगरपालिकासँग समन्वय गरेर यस्ता कार्यक्रम गरिरहेका थियौं । अहिले कोभिडपछि त्यो स्थगित भएको छ । अवस्था सामान्य भइसकेपछि मोबाइल बैंकिङदेखि प्रविधिमा सबै साक्षर हुने गरी हामीले बिभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छौं । वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामिण क्षेत्रलाई लक्षित गरेर सञ्चालन गर्ने तयारी समेत भईरहेको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामीलाई विश्वास गरेर यहाँसम्म पूर्याउनुहुने ग्राहकहरुप्रति हामी आभारी छौं । यसमा सञ्चालक समिति, कर्मचारीको पनि अहम् भूमिका रहेको छ, जसले गुणस्तरीय सेवा दिएर बैंकलाई यहाँसम्म पूर्याउनुभयो । मिडिया र नियमनकारी निकायहरुप्रति पनि हामी कृतज्ञ छौं । हाम्रो मूल नारा नै ”संस्थागत सुधार गरी वित्तीय क्षेत्रमा सबैको पहुँच” भन्ने हो, सोहीअनुसार हामीले काम गरिरहेकोमा आगामी दिनमा पनि यसैगरी अघि बढ्नेमा प्रतिबद्ध छौं । अझ राम्रो र गुणस्तरीय सेवा बनाउने गरी काम गरिरहेका छौं, यही प्रतिबद्धताको कार्यान्वयनका साथ हामी अघि बढिरहन्छौं ।


ताजा खबर