राष्ट्रिय प्रजातन्त्र दिवस हर्षोल्लासपूर्वक मनाईंदै

एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्रको उज्यालो किरण छाएको दिन फागुन ७ गतेको स्मरणमा आज देशभर हर्षोल्लासपूर्वक राष्ट्रिय प्रजातन्त्र दिवस मनाईंदैछ ।

जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएको हो ।

शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठ

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास हुँदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा प्राणको दिनुभएको थियो ।

बिपी कोइराला

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

राजा त्रिभुवन

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

रासस


ताजा खबर