महिला हिंसा बढेकोमा राष्ट्रपतिको गम्भीर चासो

आपराधिक घटनालाई जरैबाट उखेल्न र सधैँका लागि निर्मूल पार्ने विषयमा सुझाव पेस गर्न सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा बढ्दो महिला हिंसा, बलात्कार र हत्या जस्ता आपराधिक घटनालाई जरैबाट उखेल्न र सधैँका लागि निर्मूल पार्ने विषयमा सुझाव पेस गर्न सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरू, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँग आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले आपराधिक गतिविधि नियन्त्रणका लागि मानसिकतामा नै परिवर्तन गरिनुपर्ने खाँचो औंल्याउनुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कानून न्याय तथा संसदीय मन्त्रालय लगायत विभिन्न क्षेत्रका महिला अधिकारकर्मी संघ संस्था र अन्य सरोकारवाला निकाय र पदाधिकारीहरुसँग भएको छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले विगतको तुलनामा महिला तथा बालबालिकाको विषयमा धेरै उपलब्धी भए पनि समाजमा बेला बेलामा अपराधका घटनाहरु घटिरहेकोप्रति चिन्ता व्यक्त गर्दै मानसिकतामा नै परिवर्तन गर्नुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले यस्ता आपराधिक गतिविधिहरु सँधैँका लागि निर्मुल पार्न जरैबाट उखेल्न के गर्न सकिन्छ भन्ने बारेमा सुझाव पेस गर्न पनि सरोकारवालाहरुलाई निर्देशन दिनुभयो ।

सो अवसरमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसा बलात्कार हत्या लगायतका आपराधिक गतिविधिहरु नियन्त्रण गर्न मन्त्रालय भोलिका दिनमा अरु प्रभावकारी ढंगबाट अघि बढ्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानुन आयोग राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग र अन्य विभिन्न आयोगहरु लगाएत महिला अधिकारकर्मी र पत्रकारहरुले विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने अपराधीलाई थप कडा सजाय दिने व्यवस्था हुनुपर्ने प्रभावकारी कानूनको अनुगमन र कानुनमै परिवर्तन गर्नुपर्ने विद्यालय तहसम्म महिला अधिकार र यौन हिंसा सम्बन्धी पाठ्यक्रमको व्यवस्था हुनुपर्ने राष्ट्रिय महिला आयोग लगाएतका सम्बन्धित आयोग र निकायहरुलाई शक्ति सम्पन्न बनाइनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई अरु प्रभावकारी बनाइनुपर्ने सम्बन्धित मन्त्रालय य र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने अनुसन्धानलाई थप व्यावसायिक बनाइनुपर्ने महिला सम्पतिको अधिकार सुनिश्चित गरिनुपर्ने अपराधीलाई राजनीतिक संरक्षण दिन नहुने र आम सञ्चार माध्यमहरुले महिला हिंसा बलात्कार र हत्याजस्ता गतिविधिको विरुद्धमा प्राथमिकताका साथ सामग्रीहरु प्रचार प्रसार गर्नुपर्ने र समाजमा चेतना अभिवृद्धिका थप कार्यक्रमहरु प्रचार प्रसार गर्नुपर्नेमा सहभागिहरुले जोड दिनुभयो ।

सो विषयमा राष्ट्रपति भवन शीतल निवासमा करिब साढे तीन घण्टा लामो छलफल भएको थियो ।


ताजा खबर