फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा कायमै

नेपाल फिफा वरियतामा १ सय ७१ औँ स्थानमा यथावत् रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपालको वरियतामा कुनै परिवर्तन भएको छैन ।

कोरोना केही नियन्त्रणमा आएपछि गत नोभेम्बरमा नेपालले बङ्गलादेश पुगेर दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेलमा बङ्गलादेशसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा बराबरी गरेको थियो । अर्को महिना विश्व कप छनोट अन्तर्गत नेपालले दुई खेल घरेलु मैदानमा खेल्नेछ ।

दक्षिण एसियाली राष्ट्रमध्ये अग्रस्थानमा रहेको भारत १ सय ४ स्थानमा छ । माल्दिभ्स १ सय ५५ औँ स्थानमा छ । त्यसबाहेक अन्य दक्षिण एसियाली राष्ट्र भने फिफा वरियतामा नेपालभन्दा पछि रहेको छ । बङ्गलादेश १ सय ८६ औँ, भुटान १ सय ८९ औँ, पाकिस्तान २ सयौँ र श्रीलङ्का २ सय छैटौँ स्थानमा रहेको छ ।

फिफा वरियताको शीर्ष १० मा पनि कुनै परिवर्तन भएको छैन । नयाँ वरियता अनुसार बेल्जियम शीर्षस्थानमा छ भने, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्गल्यान्ड चौथो, पोर्चुगल पाँचौँ स्थानमा छ ।


ताजा खबर