शेयर बजार : नेप्से परिसूचकमा ९२ अंकको छलाङ

सोमबार कारोबार भएकामध्ये पाँच कम्पनीको शेयर मूल्य यथावत र दुईको शेयर मूल्य घटे पनि अन्य सबैको शेयर मूल्य बढेको छ। करीब तीन दर्जन कम्पनीको शेयर मूल्य एकै दिनमा १० प्रतिशतले बढेको छ। यसरी मूल्य बढ्ने कम्पनीमा अधिकांश लघुवित्त छन्। 

नेपाल राष्ट्र ब्यांकले आइतबार साँझ चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यसअघिको मौद्रिक व्यवस्थालाई यथावत राखेको थियो। यसअघि, केन्द्रीय ब्यांकले शेयर बजारलाई प्रभावित पार्ने नीतिगत व्यवस्था अघि सार्न लागेको चर्चा चलेसँगै लगानीकर्ता निरुत्साहित बनेका थिए। राष्ट्र ब्यांकले शेयर बजारलाई लगाम कस्ने प्रावधान अघि नसारेपछि बजार उत्साहजनक रुपमा बढेको हो। 

सोमबार सबै समूहका उपसूचक सकारात्मक बने। जसमध्ये लघुवित्त समूह ८.७४ प्रतिशतले बढेको छ। ब्यांकिङ समूह ३.२१, जलविद्युत ३.३९, जीवन बीमा ३.८६, गैर जीवन बीमा ३.४५ प्रतिशतले उकालो चढेका छन्। 

सोमबार रु.१० अर्ब ३८ करोड मूल्यका दुई करोड २४ लाख कित्ता शेयर किनबेच भएको छ। यो औसत समयको भन्दा धेरै रकम हो। 

सोमबार सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको रु.७० करोड ४८ लाख मूल्य बराबरको शेयर किनबेच भयो। त्यस्तै, नबिल ब्यांकको रु.६८ करोड मूल्य बराबरको शेयर कारोबार भएको छ। 


ताजा खबर