‘सरकारको कामबाट आत्तिएर मलाई हटाउन लागे’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्षमो उल्लेखनीय काम भएको बताउनुभएको छ । सरकारको कामदेखि आत्तिएर विरोधीहरुले आफूमाथि षड्यन्त्र सुरु गरेको उहाँको भनाइ छ ।

‘तीन वर्ष चुप लागेर बसेका छैनौं, धेरै काम भएका छन्,’ बुटवलमा शनिबार भएको नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारको कामबाट आत्तिएर मलाई हटाउन लागे ।’ उहाँले बाटोघाटो, कृषि, सिँचाइ, सूचना प्रविधिलगायतका क्षेत्रमा धेरै काम भएको फेहरिस्त प्रस्तुत गर्नुभयो । प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेको तीन वर्ष पुगेको अवसरमा फागुन ३ गते प्रेसमार्फत जानकारी दिने बताउनुभयो ।

प्रधानमन्त्रीले संविधानसम्मत् ढंगले प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो । ‘दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको मलाई काम गर्न नदिएपछि र मुलुकलाई अस्थिरतातर्फ लैजाने प्रयास पार्टीभित्रैबाट भएपछि संसद विघटन गर्नुपरेको हो,’ उहाँले भन्नुभयो, ‘विल्कुल संविधानसम्मत् विघटन गरिएको हो ।’ उहाँले आफूले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने काम गरेको भन्दै सर्वोच्चले संसद पुनर्स्थापनातिर नजाने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनमतको परीक्षाा गरेर आउन चुनौति दिनुभयो । ‘हामी त ५० लाख मत समानुपातिकतर्फ ल्याउँछौं,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘प्रत्यक्षतर्फ बहुमत सिट आउँछ ।’

आमसभामा अर्थमन्त्री एवं नेकपा महासचिव विष्ण पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सम्बोधन गर्नुभएको थियो । –रासस


ताजा खबर