‘अक्सफोर्डको महाविद्यावारिधिको अनुभूति’

~प्रा.डा. सूर्यप्रसाद सुवेदी

म ज्ञानको खोजी, ज्ञानको सिर्जना, ज्ञानको विस्तार र आर्जन गरेको ज्ञान सर्वजन हिताय र सर्वजन सुखायका लागि उपयोगमा ल्याउनेक्रममा जहाँ पुगेको छु, त्यो यात्रा तय गरेको नेपाली माटोको प्रेरणाकै आधारमा हो । ज्ञानको पहाड चढेर कहिल्यै सकिन्न । ज्ञानको भण्डार भनेको नेपालको पहाडी शृङ्खलाजस्तै हो । एउटा पहाड चढ्यो अनि चढिसकेपछि अर्को ठूलो पहाड देखिन्छ र त्यो पनि चढ्न मन लाग्छ । यसरी ज्ञानको यात्रा सुखमय र अनन्त बन्छ । मैले अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधपत्रबापतको पुरस्कारसहित विद्यावारिधिको उपाधि लिँदा मलाई खड्किएको कुरा यो थियो कि मैले जान्नुपर्ने र सिक्नुपर्ने कुरा अझै धेरै रहेछन् र विद्यावारिधि गर्ने भनेको त्यो यात्राको प्रस्थानबिन्दुमात्र रहेछ ।

मैले गरेको ज्ञानको सिर्जना र विस्तारलाई कदर गर्दै विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले मलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गर्यो । यस्तो उपाधि अक्सफोर्डले विरलै र आफ्ना प्रकाशित कृतिद्वारा असाधारण प्रकृतिको योगदान दिने प्राध्यापक वा स्रष्टालाई मात्र प्रदान गर्छ । नेपालबाट उठेर ज्ञानको खोजीमा झन्डै ३० वर्षअघि पाश्चात्य मुलुकतर्फ कदम चालेको एउटा नेपालीले यस्तो उपाधि पाउँदा हर्षित र गौरवान्वित हुनु स्वाभाविकै थियो । हुन पनि राजनीतिमा लागेकाहरूका लागि मन्त्री वा प्रधानमन्त्री हुनु सफलताको उत्कर्ष र कूटनीतिक सेवामा काम गर्नेका लागि राजदूत हुनु ठूलो उपलब्धि मानिन्छ । त्यसैगरी, प्राज्ञिक क्षेत्रमा लागेका हामीजस्ता व्यक्तिलाई प्रतिष्ठित विश्वविद्यालयमा पूर्ण प्राध्यापक बन्नु सफलता हो र महाविद्यावारिधिजस्तो उपाधि पाउनु सफलताको उत्कर्ष हो ।

अक्सफोर्डले कसैलाई यस्तो उपाधि प्रदान गर्नुअघि त्यो व्यक्तिले संसारको ज्ञान भण्डारलाई विस्तार गर्न कति ठूलो योगदान गरेको छ भन्ने मूल्याङ्कन गर्छ । त्यस्तो मूल्याङ्कनको क्रममा मैले आफ्नो ४६ पृष्ठको बायोडाटा (व्यक्तिगत परिचय), १२ पृष्ठ लामो आफ्नो प्रकाशनको सूची र आफ्ना राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रकाशन गृहले प्रकाशित गरेका ग्रन्थ र उच्चस्तरका जर्नलमा प्रकाशित कृतिको दुई बाकस पेस गरेको थिएँ । वरिष्ठ प्राध्यापकहरू समावेश हुने मूल्याङ्कन समितिले निकै समय लगाएर मेरा कृतिहरू अध्ययन गरी मैले अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको हुनाले महाविद्यावारिधि प्रदान गर्न योग्य व्यक्ति भनि विश्वविद्यालयलाई सिफारिस ग¥यो । त्यसपछि अक्सफोर्डको उच्चस्तरीय समितिले ती सिफारिसउपर विचार–विमर्श गरी मलाई सो उपाधि प्रदान गर्ने निर्णय गर्यो ।

सुखद संयोग यस्तो प¥यो कि त्यो खबर आउँदा म मेरा स्वर्गीय पिताजीको शतवार्षिकीको सन्दर्भमा मेरा मातापिताको वैकुण्ठवासको कामना गर्दै लन्डनको मेरो घरमा श्रीमद्भागवत महापुराणको यज्ञ गर्दै थिएँ । मेरो यो उपाधिले मेरा मातापिताका लागि एउटा सच्चा श्रद्धासुमन अर्पण गर्ने प्रतीकका रूपमा काम ग¥यो । आफ्नो जिन्दगी धर्म र संस्कृतिको संरक्षण र शिक्षाको ज्योति बाल्न समर्पण गर्नुभएका मेरा पिताजीका लागि मेरो यो उपाधि एउटा उपयुक्त श्रद्धाञ्जली थियो ।

मेरो घर नर्दन हाइट्स भनेर चिनिने लन्डनको सबैभन्दा अग्लो ठाउँ हाइ बार्नेटमा छ । लन्डनको यस्तो डाँडाको टुप्पाबाट प्रत्येक दिन शङ्खनाद र गाना बजान गरेर सप्ताह गरियो र कोसौँ परका छिमेकीले शङ्खनाद सुने होलान् । कसैले कतै सिकायत गर्छन् कि भन्ने लागेको थियो । तर, बेलायतजस्तो सहिष्णु समाजमा त्यस्तो केही भएन । बरु केही छिमेकी सहभागी हुन आए र अरू केहीले पछि भेट हुँदा तिमीहरूको घरबाट आठ दिनसम्म अनौठो तर मीठो आवाज आएको थियो, त्यो के थियो ? भनेर सोधे । मैले हिन्दु धार्मिक यज्ञको आवाज हो भनेँ ।

एउटा लब्धप्रतिष्ठित पण्डितको छोरो भए पनि मैले राम्रो पण्डितबाट एकाग्र भएर श्रीमद्भागवत श्रवण गरेको थिइनँ र त्यो गर्ने धेरै रहर थियो । त्यसैले होला, पूर्वाङ्गको एक दिन र सप्ताहका सात दिन बितेको पत्तै भएन । भगवान्को स्तुतिका श्रीमद्भागवतका सुन्दर गाथा अत्यन्तै मनमोहक रहेछन् । म आफैँ र दाजुहरू पनि संस्कृतमा पाठ गर्न सक्ने भएकाले वाचक र उपवाचक पण्डितहरू सँगसँगै कतिपय सुन्दर गाथाहरू वाचन गरेको हुनाले मेरो घर र लन्डनको छरछिमेक नै गुञ्जायमान भएको थियो । त्यतिमात्र नभएर, सप्ताह सकिएको एक महिनासम्म भगवान्का स्तुतिका श्लोकहरू मेरो दिमागमा गुञ्जिरहे ।

श्रीमद्भागवतको एकपटक राम्रोसँग रसास्वादन गरेपछि फेरि–फेरि गर्न मन लाग्ने रहेछ । मिठासपूर्ण र छन्दोबद्ध तरिकाले महर्षि वेदव्यासले रचना गरेको श्रीमद्भागवत महापुराण भक्ति, ज्ञान र वैराग्यले भरिपूर्ण ग्रन्थ रहेछ । श्रीमद्भागवत श्रवणले अहङ्कार, कुण्ठा र राग टाढा जाने रहेछन् र यही पृथ्वीमै स्वर्गको अनुभूति हुने रहेछ । त्यसैले होला, मेरा पिताजीले जिन्दगीको प्रत्येक दिन बिहान श्रीमद्भागवतको कम्तीमा एउटा अध्याय पाठ गरेर दिनचर्या सुरु गर्नुहुन्थ्यो र उहाँ सन्त बन्नुभएको थियो । श्रीमद्भागवत श्रवण गरिसकेपछि मानिस शान्त र साŒिवक बन्ने रहेछ र एक किसिमको निर्वाण प्राप्त हुने रहेछ ।

सप्ताहकै क्रममा अक्सफोर्डबाट महाविद्यावारिधि गरेको खबर आएपछि सबैमा यसले थप खुसी सञ्चार गराएको थियो । बेलायत विद्याको खानी हो, यहाँ विद्वताको कदर हुन्छ । प्राज्ञिक र शैक्षिक क्षेत्रमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन । राजनीतिक भागबन्डाको त कुरै पर छाडौँ । बेलायत प्राध्यापकलाई सम्मान गर्ने र प्रतिभाको कदर गर्ने मुलुक हो । त्यसो भएर नै म एउटा नेपालीलाई बेलायतका परराष्ट्रमन्त्रीले सल्लाहकार नियुक्त गरेका थिए । यहाँ प्राज्ञिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा हुन्छ । त्यसो भएर नै म एउटा नेपालीले संयुक्त अधिराज्य (बेलायत) की महारानीबाट ओबीई र क्यूसीजस्ता प्रतिष्ठित मान–सम्मान आर्जन गर्न सकेँ र अहिले अक्सफोर्डले महाविद्यावारिधिबाट सम्मान गर्यो ।

खुसीको कुरा, अक्सफोर्डले महाविद्यावारिधि प्रदान गरेको खबर सञ्चारमाध्यममा आएपछि मलाई बधाइ सन्देश पठाउनेमध्ये धेरै आफ्नो देशलाई केही गरौँ भन्ने सोच बोकेका नेपाली युवकयुवती थिए । उनीहरूले मलाई तपाईंले संसारमा जुन उचाइ लिनुभएको छ, त्यसले हामीलाई प्रेरणा र उत्साहको ऊर्जा मिलेको छ भनेका थिए । त्यसले मलाई मेरो महाविद्यावारिधिबाट थप सन्तोषको अनुभूति प्रदान ग¥यो । बसुधैव कुटुम्बकम र पण्डिताः समदर्शिनमा विश्वास गर्ने व्यक्ति भएकाले मलाई संसार नै आफ्नै हो जस्तो लाग्छ । हुन पनि विद्या आर्जनका लागि मेरा छात्रछात्रा संसारभरिबाट आएका हुन्छन् । मेरो शरीर नेपाली हो भने आत्मा ग्लोबल (विश्व) हो र मेरो काम संसारको भलो हुनेगरी कलम चलाउनु हो ।

मैले मेरो जिन्दगीको आधा समय पाश्चात्य मुलुकको प्राज्ञिक क्षेत्रमा बिताएको छु । त्यसो भनेर मैले आफ्नो ज्ञान नेपालमा लगानी नगरेको भन्ने होइन । ज्ञान सिर्जना गर्ने र त्यसको विस्तार गर्ने भनेको सबै मानव जातिका लागि हो । विधिको शासन, मानवअधिकारको सम्मान, सुशासन, न्याय र शान्तिका लागि मैले जे कृति प्रकाशन गरेको छु, त्यसबाट संसारका सबै लाभान्वित भएका छन् भन्ने लागेको छ ।

उदाहरणका लागि मेरो एउटा ग्रन्थ चिनियाँ भाषामा अनूदित भई चीनका धेरै विश्वविद्यालयको पाठ्यसामग्रीमा समावेश छ । सम्भवतः चिनियाँ भाषामा प्रकाशित मेरो कृतिका कारणले होला विश्वमा उदीयमान शक्ति राष्ट्र चीनले मलाई अन्य राष्ट्रसँगको अन्तर्राष्ट्रिय व्यापार र लगानी कानुनसम्बन्धी विवाद हेर्ने मध्यस्थता आयोगको सदस्य नियुक्त गरेको छ ।

राष्ट्रिय कानुन होस् वा अन्तर्राष्ट्रिय कानुन, ती सामान्यतया शक्तिवान वा धनी वा सक्षम व्यक्तिहरू र राष्ट्रहरूले आफ्नो हितमा र अरूलाई नियमन गर्न बनाइएको हुन्छन् । त्यसैले कानुन आफैँमा न्यायपूर्ण छ वा छैन भनेर हेर्नुपर्ने हुन्छ र त्यो काम प्राज्ञिकहरूको हो । मैले अन्तर्राष्ट्रियस्तरमा उपयोगी हुने कृतिको साथसाथै नेपालको अन्तर्राष्ट्रिय जगत् र खासगरी परराष्ट्र मामलाका प्रायः सबै विषयका अन्तर्राष्ट्रिय कानुनी पक्षमा अध्ययन अनुसन्धान गरी विश्वस्तरका कृति प्रकाशित गरेको छु । त्यसको साथै अन्तर्राष्ट्रिय निकायमा नेपालजस्ता अल्पविकसित मुलुकको हितमा अन्तर्राष्ट्रिय कानुन कसरी उपयोगमा ल्याउन सकिन्छ भनेर प्रयास गरेको छु । अन्तर्राष्ट्रिय कानुन निर्माणमा प्रभावशाली भूमिका राख्ने एक उच्चस्तरीय अन्तर्राष्ट्रिय कानुनी संस्थाको आजीवन सदस्यका रूपमा निर्वाचित भएपछि मैले आफ्नो प्रयास त्यो निकायमार्फत पनि जारी राखेको छु ।

लेखक संयुक्त अधिराज्यस्थित लिड्स विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।


ताजा खबर