प्रधानमन्त्री ओली र थाई राजदूतबिच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्यान्डका राजदूत भोषित भोरासाफले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा उहाँहरूबिच दुई मुलुकबिच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले राजदूत भोरासाफको सफल कार्यकालका लागि शुभेच्छा व्यक्त गर्नुहुँदै यसै अवधिमा दुई देशबिच सम्बन्धका नयाँ आयामहरू पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबिच बौद्ध धर्ममार्फत जोडिएका सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले दुई देशबिच कूटनीतिक सम्बन्ध ६२ वर्षअघि स्थापना भए पनि दुई देशको सम्बन्ध भने त्यसभन्दा धेरै लामो रहेको र सम्बन्धलाई थप उचाइ दिन नयाँ सम्भावना पहिल्याउनु पर्ने धारणासमेत राख्नुभयो ।

भेटका क्रममा राजदूत भोरासाफले थाइल्यान्ड र नेपालको भैरहवा विमानस्थलबिच सिधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने विचार व्यक्त गर्नुभयो । –रासस


ताजा खबर