निर्वाचनको काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुभएको छ ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उहाँलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुस्थितिबारे अवगत गराउनुभएको थियो । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव गर्ने गरी पुस ५ गते नै निर्वाचनको मिति घोषणा गरेको थियो ।

आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोगले गरिरहेको तयारीबारे जानकारी लिन प्रधानमन्त्री जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले प्रमुख आयुुक्तसहितका आयुक्तसँग निर्वाचनको तयारीबारे छलफल गरेको र आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भनी धन्यवाद ज्ञापन गर्नुभएको उहाँले बताउनुभयो ।

निर्वाचनको कामलाई निरन्तर अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै प्रधानमन्त्री ओलीले सोका लागि सबै प्रकारका स्रोतसाधन उपलब्ध हुने तथा कुनै कमी हुन नदिइने विश्वास दिलाउनुभएको थियो ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विवाद सम्बन्धमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यही माघ ११ गते एउटा निर्णय दिइसकेकामा माघ २० गते अर्को निवेदन पनि प्राप्त भएको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले त्यस विषयमा निर्वाचन कानून, हिजोका अभ्यासलगायत धेरै विषयका सन्दर्भमा जानकारी राख्दै जिज्ञासा माग गर्नुुभएको थियो । प्रधानमन्त्री ओलीले मूलतः निर्वाचनको तयारी सम्बन्धमा नै आयोगले गरिरहेको कामको जानकारी लिनका निम्ति जानुभएकाले त्यसमा नै केन्द्रित रहेर छलफल भएको सल्लाहकार थापाले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीका साथ उपप्रधानमन्त्री, अर्थमन्त्री, कानून, न्याय तथा संसदीय मामिलामन्त्री तथा दलका तर्फबाट निर्वाचनसम्बन्धी जिम्मेवारी र सम्पर्क तोकिनुभएका पूर्वसभामुख सुवास नेम्वाङलगायत नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता आयोग पुग्नुभएको थियो । –रासस


ताजा खबर