‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित छ’: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको पार्टी नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको बताउनुहुँदै कार्यकर्तालाई भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले खोस्न नसक्ने गरी सुरक्षित रहेको बताउनुभएको छ ।

नेकपाले आज काठमाडौँमा गरेको आमसभामा प्रधानमन्त्री ओलीले नेपाली जनतामा आएको जागरण र चेतनाका कारण लोकतन्त्र सधैँका लागि सुरक्षित रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उद्योग सञ्चालन तथा प्राकृतिक सम्पदाहरूको सदुपयोग गरी सरकारले रोजगारी खोज्न युवाहरू बिदेसिनुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि र विकासका लागि सरकार क्रियाशील रहेको र तीन वर्षको अवधिमा विकास निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

सरकारले तीन वर्षको अवधिमा करिब ६ हजार किलोमिटर पक्की सडक ४ सय भन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले तराईको सिँचाइ तथा ढुवान समस्या समाधान गर्न, तुहिन विस्थापन गर्न तथा हुलाकी राजमार्ग लगायत दूरगामी महत्त्वका विकास निर्माणका आयोजनाहरू अगाडि बढाउन उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूले नेतृत्व गरेको पार्टी नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको बताउनुहुँदै कार्यकर्तालाई भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी भित्रको बहुमत र अल्पमतका आधारमा नभई जनताको समर्थनका आधारमा पार्टीको आधिकारिकता निर्धारण हुने बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको स्थायित्व र समृद्धिका लागि आफूहरू जस्तोसुकै प्रतिकुलताको सामना गर्न तयार रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले आफूहरूको लडाई मुलुकलाई अराजकता र अस्थिरतातर्फ लैजान चाहनेका शक्तिको विरुद्ध भएको बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापाले पार्टी अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिलाई षड्यन्त्रपूर्वक हटाउन खोजेका कारण पछिल्लो राजनैतिक घटनाक्रम विकास भएको बताउनुभयो ।

गृहमन्त्री थापाले आन्दोलनका नाममा हुने कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको पनि स्पष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पार्टीका केही नेताहरूको लोभ र स्वार्थका कारण बढेको राजनैतिक सङ्कटबाट देशलाई निकास दिन निर्वाचनको विकल्प नभएको बताउनुभयो । –रासस


ताजा खबर