‘सुकुम्वासी समस्या समाधानमा सरकार लागिरहेको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सुदृढीकरणका लागि केहीले छाडेर जानुपर्ने आवश्यकता रहेकोमा त्यस्ता तत्त्वहरू पार्टीबाट आफै बाहिरिएका बताउनुभएको छ ।

नेपाल भूमिहीन सुकुम्वासी सङ्गठनको राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभा पुनर्जीवित गरेर प्रधानमन्त्री बन्नका लागि अरूलाई गुहार्न पुग्नेहरू कस्ता हुन् भनी जनताले चिनिसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल बन्दको हल्ला फिँजाएर के गर्न चाहेका हुन, के जनता बन्द चाहन्छन् भनेर प्रतिप्रश्न गर्दै जनतामा जाने सरकारको निर्णय लोकतन्त्र र जनताको पक्षमा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भूमिहीन र सुकुम्वासीहरूको समस्या समाधानका लागि सरकार लागिरहेको र त्यसकै लागि भूमि आयोग गठन भएको बताउनुभयो ।

विगतमा पार्टीभित्रका केही नेताहरूका कारण भूमि आयोग गठनमा ढिलाइ भएको तर उनीहरू छाडेर गएपछि भूमि आयोग गठन भएको र अब यसले भूमिहीन र सुकुम्वासीहरूको समस्या समाधान गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले केपी ओली नेतृत्वको सरकार भूमिहीन, सुकुम्वासी र गरिबहरूको पक्षमा रहेको र भूमिहीन र सुकुम्वासीहरूको समस्यासँगै अव्यवस्थित बसोबासको समस्या समाधान गरिने बताउनुभयो ।

कार्यक्रममा भूमि आयोगका अध्यक्ष देवी ज्ञवाली, पूर्व सांसद केशव बडाल, शान्ता चौधरीलगायतका वक्ताले सक्कली भूमिहीन कोही पनि नछुट्ने गरी र नक्कली भूमिहीन सुकुम्वासीले नपाउने गरी आयोगले काम गर्ने बताउनुभयो । –रासस


ताजा खबर