‘लाजलाई छोपी राख्या भए हुन्थ्यो’

~शोभा सिलवाल पाण्डे

अलिकति लाजलाई त छोपी राख्या भए हुन्थ्यो

बहुमतको सरकारलाई नढाल्याभा राम्रै हुन्थ्यो ।

मिलुन्जेल  एउटै आन्द्रा निल्ने घाँटी एउटै भयो

खनाल,दाहाल,नेपाल, तिम्रो इज्जत कता गयो  ?

लाज छैन ? एक अर्कालाई दोष मात्रै लगाई बस्छौ

नौटङ्की गर्दै जनतालाई सधैँ उल्लु बनाई बस्छौ ।

एकअर्कालाई दोष लाउँदै कुर्ची चिन्ता भो अति

देश , जन्ताको दुःखमा साथ दिएनौ एक रत्ती।

निरङ्कुश र तानाशाही बहुमतको बन्यो सरकार

धोका र बेइमानीको राज भयो गरौँ  वहिष्कार ।

नेपाल बन्द , चक्काजाम अब सुरु हुन थाल्यो

कोरोनाले शिथिल  अर्थतन्त्र  खाल्डोभित्र  हाल्यो ।

कहीँ नभाको जात्रा हाँडी गाउँमा भनेजस्तै भाको छ

कुर्ची रूपी हड्डीको लागि कुकुरको लडाइँ भाको छ।

नेताका पछि नलाग जनता , किर्नाले झैँ चुसिसके

छोक्रा बनाई सडकमा हाम्लाई यिनले पुर्‍याइसके।

कुर्चीका भोकाहरूले गरेनन् जनताका लागि काम

हे नेपाली जनता, आन्दोलनमा नगई मसान घाट जाम।

वृद्ध नेता वानप्रस्थ जाओ, कुर्ची खाली गर छिटो  

युवा नेतालाई कुर्ची देओ वृद्ध ठाउँ नओगटो ।

अदालत  ढिलो गरी न्याय दिने  हाम्रो देशमा  

न्याय प्रणाली नि ठिक छैन नेपालीको  हितमा ।  

नेपाल आमा छाती पिटी रोइरहेकी  छिन्

एकतामा भाँजो हाल्ने कस्तो आए दिन ?                                                                                       


ताजा खबर