राष्ट्रिय महिला लिगः बिराटनगरले पुलिसलाई हरायो

 बिराटनगर महानगरपालिकाले नेपाल पुलिस क्लबलाई हराएको छ । बिराटनगरले पुलिसमाथि १–० को सनसनीपूर्ण जित हात पार्न सफल भएको हो ।

राष्ट्रिय महिला लिग अन्तगर्त बुधबार सम्पन्न दोस्रो तथा लिगको २१ औं खेलमा बिराटनगरका लागि पार्बती घलेले गर्नुभएको एक मात्र गोल निर्णायक रहन गयो । उहाँले खेलको ९ औं मिनेटमा नै गोल गरेर पुलिसमाथि १–० को अग्रता दिलाउनुभयो ।

जितसँगै बिराटनगर महानगरपालिका अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । जितसँगै बिराटनगरले दश अङ्क पुर्याएको छ । पुलिस र वालिङ नगरपालिका दुबैको सामान आठ अङ्क छ । गोल अन्तरको आधारमा पुलिस चौथो र वालिङ पाँचौं स्थानमा छ ।

बिराटनगरका प्रशिक्षक पारस चौधरीले रणनीति खेलमा उतार्न पुगेकोमा खुशी ब्यक्त गर्नुभयो । पुलिसका प्रशिक्षक सञ्जीब जोशीले भने आफ्ना खेलाडीहरु पूर्ण योगदान दिन नसकेको बताउनुभयो ।

बिराटनगरले पुलिसमाथि जित हात पारेको खेलसँगै महिला लिगको पहिलो चरणको खेलहरु समाप्त भएको छ । दोस्रो चरणको खेलहरु शनिबारदेखि सुरु हुनेछ ।

लिगमा अपराजित रहेको सशस्त्र प्रहरी बल(एपीएफ)ले छ खेलमध्ये सबैमा जित हात पारेर अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्रिभुवन आर्मी भने दोस्रो स्थानमा उक्लेको छ । –रासस


ताजा खबर