अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसले राजीनामा दिए

अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गर्नुभएको छ ।

सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ ।
अमेजनमा रहेको सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताउनुभएको छ । जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहनुभएको छ ।

कोरोनाभाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाएका कारण अमेजनको पनि नाफा झण्डै दोब्बर अर्थात् ७.२ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कुल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो ।अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यहरुमा सक्रिय रुपमा सहभागी हुने बताउनुभएको छ । उहाँले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहनुभएको छ ।

हाल ५७ वर्ष पुगेका बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट शुरु गर्नुभएको थियो । हाल अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा (रिटेल) व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले संगीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरु नवीन परियोजनामा काम गरिरहेको छ ।

उहाँका अन्य व्यवसायहरुमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लू ओरिजिन छन् ।

अमेजनको प्रमुख कार्यकारीका रुपमा नियुक्त हुन लाग्नुभएका जेस्सीले सन् १९९७ मा मार्केटिङ व्यवस्थापकका रुपमा काम शुरु गर्नुभएको थियो । उहाँ सन् २००३ देखि अमेजन वेब सर्भिसेजमा कार्यरत हुनुहुन्छ ।

बेजोसले जेस्सी बेजोड प्रतिभा र नेतृत्व रहेको बताउँदै उहाँमाथि आफ्नो पूर्ण विश्वास रहेको बताउनुभएको छ । बेजोसको नेतृत्वमा व्यापक प्रगति गरेको अमेजनको मुख्यालय सियाटल, वासिङ्टनमा छ र यसले अमेरिकी राजधानी बाहिर दोस्रो मुख्यालय पनि बनाउँदैछ ।

अमेजनको बजार मूल्य मंगलबार झण्डै १६ खर्ब ९० अर्ब डलर बराबरको छ । दश वर्षअघिको तुलनामा यो वृद्धि झण्डै १० गुणा बढी हो । –रासस/एएनआई


ताजा खबर