म्यानमार : ३ परराष्ट्रमन्त्री सहित ११ मन्त्री थपिए

गिरफ्तार सू चीलगायतको अवस्था अज्ञात , बैंकहरु खुले

गत नोभेम्बरमा सम्पन्न निर्वाचनको परिणामलाई अस्वीकार गर्दै ‘कू’ गरेको म्यानमारको सेनाले पुराना २४ मन्त्रीलाई बर्खास्त गरेर ११ जना नयाँ मन्त्री नियुक्त गरेको छ । नेत्री आन सान सू चीलगायत नियन्त्रणमा लिइएकाको अवस्था सार्वजनिक नगरेको सेनाले निर्वाचन आयोग पनि नयाँ बनाएको छ । 

सोमबार राति नेत्री आन सान सू ची, राष्ट्रपति, मुख्यमन्त्रीलगायतलाई नियन्त्रणमा लिएर ‘कू’ गरेको त्यहाँको सेनाले सेनाका पूर्वजनरल, कोलोनल र केही कार्यरतलाई नयाँ मन्त्री नियुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 


रोचक त के छ भने ‘कू’ पछि अन्तर्राष्ट्रिय रूपमा आलोचित सेनाले परराष्ट्र मन्त्री तीन जनालाई बनाएको छ । फरिजन अफेयर्स, इन्टरनेशनल रिलेसन र फरिजन इकोनोमिक रिलेसन गरी तीनवटा परराष्ट्र मन्त्रालय गठन गरेर उसले मन्त्री नियुक्त गरेको हो ।


जनमत कुल्चिएपछि आलोचित सेनाले तीन वटा परराष्ट्र मन्त्रालय गठन गरेर अन्तर्राष्ट्रिय सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेको सन्देश दिएको छ । 


यसैबीच सत्ता हातमा लिएको सेनाले निर्वाचन आयोग नयाँ बनाउने घोषणा गरेको छ । यसअघि उसले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको थियो । निर्वाचनमा कुनै धाँधली नभएको आयोगले जनाएपछि सेना आयोगसँग रुष्ट बनेको थियो । 


निर्वाचन आयोग नयाँ बनाउने निर्णय गरिए पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, न्यायाधीशहरू र खमानव अधिकार आयोगमा पुरानैलाई निरन्तरता दिइने भएको छ । 


गिरफ्तारमा परेकाको अवस्था अझै अज्ञात 


सोमबार रातिदेखि त्यहाँको सेनाले गिरफ्तारीको सिलसिला सुरु गरेको थियो । यो क्रममा नेत्री आन सान सू चीसहित राष्ट्रपति, मुख्यमन्त्री, मन्त्रीलगायतका दर्जनौं गिरफ्तारीमा परेका छन् । तर अहिलेसम्म नियन्त्रणमा लिइएका उनीहरूलाई कहाँ राखिएको छ भनेर सार्वजनिक गरिएको छैन । 


नियन्त्रणमा लिइएकाबारे सार्वजनिक नगरिएपछि उनीहरूको अवस्थालाई लिएर चासो बढेको छ । बर्मामा कार्यरत नेपाली पत्रकार दीपक भट्टराईले ट्विट गर्दै सबैभन्दा धेरै चासो सू चीको अवस्थालाई लिएर भइरहेको जनाएका छन् । बर्मामा सू चीलाई भगवान् जसरी पूजा गर्ने ठूलो जमात् छ । 


सैनिक कू पछि वर्मामा जनजीवन सामान्य थियो । तर बैंकलगायतका कार्यालय खुलेका थिएनन् । आजबाट ती सबै पूर्ववत सञ्चालनमा आउने भएका छन् । –रासस/एएनआई


ताजा खबर