दाहाल-नेपाल समूहद्वारा आधिकारिक भएको दाबी पेस

नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोग पुगेर आधिकारिक भएको दाबी पेस गरेको छ।

अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितको टोली मंगलबार आयोगमा पुगेको हो। बहुमत केन्द्रीय सदस्यहरुको भएको कागजात पेश गरेर आधिकारिक भएको दाबी पेस गरेको हो।

उनीहरुले नेकपा र चुनाव चिह्नको आधिकारिता दाबी गरेका हुन्। त्यसका लागि आवश्यक कागजात पेश गरिएको जनाएको छ।

नेकपाका वरिष्ठ नेता खनालले झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरुसँग रहेको प्रमाण पेस गरेको बताए। नेकपा केन्द्रीय कमिटीमा ४४१ सदस्यमध्ये दुई सय ७७ जनाको नाम र हस्ताक्षर बुझाएको नजाएको छ।

विधानको व्यवस्था अनुसार सोमबार बसेको केन्द्रीय कमिटीको निर्णय बमोजिम दाबी पेस गरिएको उनले बताए।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएपछि नेकपामा विभाजन आएको छ। यसअघि पनि ओली  र दाहालनेपाल समूहले विभिन्न निर्णय गरेर अध्यावधिक गर्न निर्वाचन आयोगमा पत्राचार गरेका थिए।

त्यसलाई निर्वाचन आयोगले अस्वीकार गरेको थियो। आयोगले दलसम्बन्धी ऐन अनुसार आधिकारिता पेश गर्नुपर्ने जानकारी दिएको थियो।


ताजा खबर