८० नयाँ पालिकामा खेलग्रामका लागि बजेट दिइने

युवा तथा खेलकुद मन्त्रालयले ८० वटा नयाँ पालिकामा खेलग्रामका लागि बजेट दिने निर्णय गरेको छ ।

मन्त्रालयको बैठकले प्राप्त प्रस्तावमाथि अध्ययन गरेर ८० वटा नयाँ पालिकामा बजेट रकम पठाउने निर्णय गरेको हो ।

मन्त्रालयले माघ ५ गतेसम्म खेलग्राम प्रस्तावका लागि सूचना जारी गरेको थियो । बैठकले ८० वटा नयाँ पालिकामा बजेट निकासा गर्दै गत वर्ष बजेट वितरण गरिएका ६० वटा पालिकालाई थप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले चालू आर्थिक वर्षका लागि खेलग्राम निर्माणका लागि ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । गत आर्थिक वर्ष मन्त्रालयले ८४ वटा स्थानीय पालिकालाई खेलग्रामका लागि बजेट निकासा गरेको थियो ।

हरेक स्थानीय तहमा एक खेलग्राम बनाउने सरकारी घोषणा अनुसार मन्त्रालयले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । स्थानीय तह र सङ्घीय सरकारको संयुक्त लगानीमा बन्ने खेलग्राममा स्थानीय तहले ३० प्रतिशत रकम सुनिश्चित गरेमा सङ्घीय सरकारले ७० प्रतिशत रकम उपलब्ध गराउने उल्लेख छ ।

स्थानीय तहले पेश गरेको खेलग्रामको विस्तृत परियोजना रिपोटको प्रस्तावको अध्ययन गरेर मन्त्रालयले बजेट निकासा गर्ने गरेको छ । –रासस


ताजा खबर