संवैधानिक परिषदको सिफारिस फिर्ता गरेकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषद्ले संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएको प्रति आपत्ति प्रकट गर्नु भएको छ।

तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलन गरी सभामुखको पत्रले राष्ट्रियसभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाउनुभएको हो । सभामुखको पत्रमा संघीय संसद र अन्तर्गतका समितिहरुको सञ्चालन, व्यवस्थापवन समेतको व्यवस्था गर्ने अधिकार सभामुखमा निहित भएको भन्ने व्यहोरा उल्लेख रहेको प्रति आपत्ति प्रकट गर्नुभयो । अधिकार प्राप्त निकायबाट आएको पत्र दुवै सदनको सम्पत्ति भएको भन्दै उहाँले पत्र फिर्तासम्बन्धी प्रक्रियामा राष्ट्रियसभा संलग्न नरहेको समेत स्पष्ट पार्नुभयो।

३० मंसिर बिहान बसेको संवैधानिक परिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि सरकारले अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश लगतै संबैधानिक परिषद्को बैठक बोलाइएको थियो । बैठकमा सभामुख अग्नि सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना सहभागी बैठकले नियुक्ति सिफारिस छलफल भएपनि कुनै निर्णय नभएको बताइएको थियो । ५ पुसमा प्रतिनिधिसभा भंग गरेसँगै अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो । आइतबार नियुक्ति सिफारिस पत्र सभामुख सापकोटाले संवैधानिक परिषदमै फिर्ता पठाएका हुन्। –रासस


ताजा खबर