महिला राष्ट्रिय लिग : पुलिस दोस्रो स्थानमा उक्लियो

विभागीय क्लब नेपाल पुलिस क्लब महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा पुलिसले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३–१ ले हराउँदै दोस्रो स्थान हात पारेको हो ।

पुलिसको जितमा निर्मला विक, निरु थापा तथा अनुष्का शेर्पाले समान एक–एक गोल गरेका थिए । चन्द्रपुरबाट सविता रानामगरले एक गोल गरिन् । पुलिसले पाँच खेलबाट आठ अंक जोडेको छ । चन्द्रपुरले पाँचै खेलबाट तीन अंक मात्र बटुलेको छ । खेलको २७औँ मिनेटमा पुलिसले १–० को अग्रता लिएको थियो । निर्मलाले पोस्टबाट रिवाउन्स भएको बललाई सहजै गोल गरेकी थिइन । यसअघि निरु थापाको हेडिङ क्रसबारमा लागेको थियो । त्यही क्रसबारमा लागेर फर्किएको बललाई नै निर्मलाले गोलको दिशा दिएकी हुन् । चन्द्रपुरले ११ मिनेटको अन्तरमा १–१ को बराबरी गोल फर्काउन सफल भयो । चन्द्रपुरले पुलिसकी गोलरक्षक सपना राईको गल्तीमा गोल गरेको हो । 

खेलको पहिलो हाफ १–१ को बराबरीमै सकिएको थियो । सविता रानामगरले चन्द्रपुरलाई १–१ को स्थितिमा पुऱ्याएकी हुन् । दोस्रो हाफमा पुलिसले सुधारिएको प्रदर्शन गऱ्याे । खेलको ५०औँ मिनेटमै पुलिसकी निरुले २–१ का लागि गोल गरिन् । उनले रेखा पौडेलको सटिक पासमा गोल गरेकी हुन् । खेलको अन्तिम इन्जुरी समयमा अनुष्काले पुलिसको जित ३–१ ले पक्का पारिन् । विस्थापन खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेकी रेखाको पासमै निरु तथा अनुष्काले गोल गरेका थिए । 

पुलिसका प्रशिक्षक सञ्जीव जोशीले विपक्षी टोलीलाई कमजोर रूपमा आंकल गर्दा नतिजा निकाल्न गाह्रो परेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामीले चन्द्रपुरलाई हल्का रूपमा लियौँ, त्यसकारणनै खेल जित्न गाह्रो परेको हो ।’ विपक्षीको रणनीति तथा खेलाडीअनुसारै आफूहरूले केही राम्रा खेलाडीलाई बेन्चमा राखेको पुलिसका प्रशिक्षक जोशीले बताए । ‘यस खेलमा नयाँ खेलाडीलाई मौका दिएका थियौँ, यसले खेलमा अहिल अप्ठ्यारो सिर्जना भयो,’ जोशीले भने, ‘हामीले गोल व्यहोरेको गोल रक्षकको कमजोरीका कारण थियो नभए त्यो गोल हुने थिएन ।’ 

यता चन्द्रपुरका सहायक प्रशिक्षक चित्र दर्लामीले पुलिसविरुद्धको खेल राम्रो भएको बताएका छन् । उनले भने, ‘अघिल्लो खेलभन्दा पुलिससँगको प्रतिस्पर्धा राम्रो भयो, खेलाडीहरूले सोचे भन्दा राम्रो प्रदर्शन गरे ।’ बलियो टोलीले गोल गरेपछि आफूहरू डिफेन्समा आएको उनले बताए । –रासस


ताजा खबर