‘पार्टी फुटेको होइन, केही मान्छे मात्र बाहिरिएका हुन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रचण्ड माधव पक्ष भन्नेहरू देशलाई बरबाद गर्ने बाटोमा हिँडिरहेको बताउनुभएको छ ।

नेकपा चितवनले भरतपुरमा आज आयोजना गरेको जनसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाल र पुष्पकमल दाहाललाई इङ्गित गर्नुहुँदै उहांँहरुले बुढेसकालमा लौरो टेकेर पार्टी ध्वस्त पार्न र देशलाई बरबाद गर्ने बाटोमा लागेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउन उहाँहरु लागेको भए पनि पार्टी फुटेको नभई पार्टीबाट केही मान्छे मात्र बाहिरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको पिलो निचोरिएर आफै गएको बताउनुहुँदै पार्टीबाट केही व्यक्ति जाँदैमा पार्टीको वजन नघट्ने बताउनुभयो ।

चुनाव हुँदैन कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले तोकिएकै मिति वैशाख १७ र वैशाख २७ मै चुनाव हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नाभी अन्तै जोडिएकालाई जनताले नछाड्ने भन्दै जनताको हित गर्नेलाई निर्वाचनमा छान्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अयोध्यापुरीका लागि रामको मूर्ति निर्माण भइसकेको र सीताको मूर्ति बनिरहेकोले अर्को रामनवमीमा चितवनको अयोध्यापूरीमा राम मन्दिर बनाएरै छाडिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चितवनको अयोध्यापूरी विश्वका हिन्दुहरूको, विश्वका पुरातत्वविद्हरुको पर्यटकीय स्थल हुने पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै चितवनबाटै चुनिएका सांसद चितवनको अयोध्यापूरी र रामका बारेमा किन बोल्न सक्दैनन् भनेर प्रतिप्रश्न गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कोभिडको प्रभावले विकासको काममा  केही गति कम भए पनि सरकारको दूरदर्शी सोचका कारण अहिले देशमा विकासको क्रियाकलाप जताततै देखिने गरेको बताउनुभयो । –रासस


ताजा खबर