प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीले जित्यो

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । फाइनलमा आर्मीले एपीएफलाई ३४ रनले हरायो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ११ रन बनायो । आर्मीले आजको खेलमा अनिल मण्डल र वलर सुशन भारीलाई ओपनिङ पठाएको थियो ।

पहिलो विकेटका लागि ओपनिङ साझेदारी ३२ रनको भएको थियो । ८.६ ओभरमा ३२ रन भएका बेला भारी व्यक्तिगत १३ रन बनाएर आउट हुन पुगे । किशोर महतोले विकेटकिपर सुवास खकुरेलमार्फत भारीलाई आउट गराएका थिए । भारीले ३४ बल फेस गर्दा एक चौका प्रहार गरेका थिए । सोही स्कोरमा १ ओभरमा अनिल मण्डल पनि आउट हुन पुगे । अनिलले २१ बल फेस गर्दा एक चौकाको मद्दतले ११ रन बनाए । अनिललाई अविनास बोहोराको बलिङमा आशिफ शेखले क्याच आउट गरेका थिए ।

आर्मीले तेस्रो विकेट ४७ रन भएका बेला गुमाएको थियो । आर्मीका भीम सार्की व्यक्तिगत सात रन बनाएर आउट हुन पुगे । उनले ३६ बल फेस गर्दा एक चौका प्रहार गरे । भीमलाई अविनाशको बलिङमा विकेटकिपर सुवासले पभेलियन पठाएका हुन् । टिमको स्कोर ८८ रन हुँदा आर्मीले चौथो विकेटको रुपमा रोहित पौडेललाई गुमायो ।

रोहित ३० बलमा १३ रन बनाउँदै आउट हुन पुगेका थिए । उनले एक छक्का प्रहार गरे । विनोद भण्डारी र हरि चौहानले टिमको स्कोर १०० कटाएका थिए । विनोद व्यक्तिगत सात रन बनाएर आउट हुन पुगे । चौहानलाई साथ दिन राजेश पुलामी क्रिजमा आएका थिए । हरि चौहानले ८९ बलमा अर्धशतक पुरा गरे । उनले ५८ रनको योगदान गरे ।

पहिलो विकेट पतन भएपछि क्रिजमा आएका चौहानले अर्धशतक बनाउँदा चार चौका प्रहार गरे । टिमको स्कोर १६७ रन भएका बेला लोकेश बम आउट हुन पुगेका थिए । लोकेसले ९ बलमा १५ रन बनाउँदा दुई छक्का प्रहार गरेका थिए । अन्तिममा साहब आलमले २५ रनको योगदान गर्दा आर्मीले सम्मानजनक स्कोर खडा गर्यो । बलिङमा अभिनाश बोहोराले चार तथा किशोर महतोले दुई विकेट लिए ।

जवाफमा एपीएफ ४१ ओभर तीन बलमा एक सय ७८ रनमा अलआउट भयो । एक समय बलियो देखिएको एपीएफले अन्तिममा लगातार विकेट गुमाउँदा हार्न पुग्यो ।

एक सय ४१ रन हुँदासम्म मात्र पाँच विकेट गुमाएको एपीएफले त्यसपछि अरु ३७ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो ।२१ रनमा पहिलो विकेट गुमाएको एपीएफले लगत्तै अर्को विकेट पनि गुमाउन पुग्यो । तर दोस्रो विकेटका लागि आशिफ शेख र शंकर रानाले ७१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याएका थिए । तर शंकर २१ रनमा आउट भएपछि एपीएफले तेस्रो विकेट गुमायो ।

त्यसपछि एपीएफका अरु खेलाडीविच दरिलो साझेदारी हुन सकेन । उसका लागि सुवास खकुरेलले १४ रन बनाए भने सुमित महर्जनले १९ रनको योगदान गरे । यस्तै सन्दिप जोराले २९ रन बनाए ।

एपीएफका लागि आसिफले सर्वाधिक ६१ रन बनाए । बलिङमा विक्रम सोब, जितेन्द्र मुखिया र साहब आलमले तीन तीन विकेट लिए । –रासस


ताजा खबर