‘राजनैतिक स्थिरताका लागि नयाँ निर्वाचन’

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक स्थिरताका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । 

नेपाल ट्रेड युनियन महासङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भागबन्डाका आधारमा सरकार बनाउने र अस्थिरता निम्त्याउने खेल रोक्नका लागि नयाँ निर्वाचनमा जानुपरेको स्पष्ट पार्नुभयो । 

जनादेश अनुसार काम गर्न नसक्ने प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनमा जाने सरकारको निर्णय सही भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय देश र जनताको पक्षमा छैन भन्ने हरूलाई निर्वाचन जितेर देखाउन चुनौती दिनुभयो । 

प्रधानमन्त्री ओलीले आन्तरिक विवाद र गुटबन्दीका कारण पार्टी समेत विघटन गर्नुपर्ने अवस्था आएपछि पार्टीलाई गतिशील बनाउन आफूले पछिल्लो कदम चालेको र प्रचण्ड–माधव नेपालको समूह पार्टी छोडेर गएका बताउनुभयो । 

प्रधानमन्त्री ओलीले पार्टी एकता पूरा नहुँदै प्रचण्डको समूहले पार्टी छोडेर गएका कारण सो समूहलाई पूर्व एमालेको सम्पत्ति तथा चुनाव चिन्हमाथि दाबी गर्ने कुनै आधार नभएको बताउनुभयो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले सुरक्षित वातावरणको सुनिश्चित नहुँदा सम्म सरकारले खाडी मुलुकहरूमा घरेलु कामदार नपठाउने बताउनु हुँदै कामदार लैजानु अगाडि सुरक्षाको सुनिश्चित गर्न विभिन्न देशहरूसँग छलफल भइरहेको बताउनुभयो । 

मन्त्री चौधरीले वैदेशिक रोजगारीमा सिपयुक्त जनशक्ति मात्रै पठाउने लक्ष्यका साथ सरकारले सबै प्रदेशमा तालिम केन्द्रहरू स्थापना गर्ने लागेको समेत जानकारी दिनुभयो । –रासस


ताजा खबर