बहुमतको सरकार ढाल्न खोजेपछि प्रतिनिधि सभा विघटन

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार ढाल्ने क्रियाकलाप हुन थाले पछि प्रतिनिधि सभा विघटन गरिएको बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उहाँले विरोधीहरुले भनेजस्तो तानाशाह बन्नका लागि निर्वाचन घोषणा गरेको नभइ न्यायका लागि जनतामा गएको बताउनुभयो । अपांगता सित सम्बन्धित बिभिन्न संस्थाहरुले आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार अपांगता भएका र गरिब जनताको हितमा काम गरिरहेको बताउनुभयो ।

आफू नेतृत्वको सरकार आएपछि सडक बालबालिकाहरु सडकमा देखिन छाडेको बताउँदै उहाँले सरकारले सडक बालबालिकाहरुको लागि आवास, भोजन र पेसागत सीप प्रशिक्षणको व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले अपांग व्यक्तिहरुमा रहेको क्षमता उपयोग गरि देशको विकासमा लगाउनुपर्ने धारणा राख्नुभयो ।

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले अपांगता मानिसको छनोट नभइ बाध्यता भएको उल्लेख गर्दै उनीहरुको हेरचाहमा सरकार, समाज र सपांग व्यक्तिको भूमिका अपेक्षित रहेको बताउनुभयो ।

कार्यक्रममा अपांगतासित सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले अपांगहरुका लागि सिप विकास, रोजगारी, शिक्षा , स्वास्थ्य लगायतका अधिकारहरुको माग गर्नुभएको थियो । –रासस


ताजा खबर