प्रधानमन्त्री कप : एपीएफको लगातार तेस्रो जित

सशस्त्र प्रहरी बल(एपीएफ)ले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।

जितसँगै समूह ए मा रहेको एपीएफ अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानको त्रिभुवन आर्मीले तीनै खेल जिते पनि नेटरन रेटको आधारमा एपीएफभन्दा पछाडि परेको छ । प्रतियोगिताको १५ औं खेलमा उसले कर्णालीलाई ७१ रनले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा एपीएफले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउँदै कर्णालीले ४३ ओभर दुई बल खेल्दै मात्र १४७ रनमा सीमित हुन पुग्यो । कर्णालीको पारीमा हेमन्त ओलीले सन्दीप जोराको थ्रो मा रन आउट हुनुअघि १०२ बलमा छ चौकाको सहयोगमा ५८ रनको पारी खेल्नुभयो । उहाँले चौथो विकेटका लागि हिमांशु शाहीसँग ५६ रनको साझेदारी गर्नुभयो । उक्त साझेदारी नै कर्णालीको पारीको सबैभन्दा ठूलो साझेदारी रहन गयो । शाहीले २० रनको योगदान दिनुभयो ।

एपीएफका लागि किशोर महतो र बसन्त रेग्मीले सामान तीन तीन विकेट लिए । भुवन कार्कीले दुई र शरद भेषवकारले एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको एपीएफले ६७ रनमै पाँच विकेट गुमाएर अत्यन्तै लज्जास्पद सुरुवात गर्यो । मध्यक्रममा सन्दीप जोराले सर्वाधिक ६० रनको योगदान दिएर एपीएफको पारी उकास्नुभयो । उहाँले अमर रौतेलासँग छैठौं विकेटका लागि ७८ रनको साझेदारी गर्नुभयो । भुवन कार्की १५ रन बनाएर पेभेलियन फर्किदा किशोर महतोले दश बलमा १३ रन बनाएर अविजित रहनुभयो । एपीएफले ४९ ओभर पाँच बल खेलेर २१८ रनमा समेटिन पुग्यो । 

कर्णालीका लागि अनूज चुनारा र रवीन्द्र शाहीले सामान तीन तीन तथा दिवन पुन र राज शाहले सामान दुई दुई विकेट लिए । –रासस


ताजा खबर