राष्ट्रिय वाणिज्य बैङ्कले सेवा विस्तार गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कले आम नागरिकको थप भरोसा र विश्वास आर्जन गर्ने गरी सेवा विस्तार गर्नु पर्नेमा जोड दिनु भएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ५६ औँ वार्षिकोत्सव समारोहलाई शनिवार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैङ्कले आगामी दिनमा प्रविधियुक्त र ग्राहकमैत्री सेवा मार्फत आम नागरिकबिच सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले बैङ्कले सञ्चालनमा ल्याएका पाँचवटा शाखा कार्यालयहरू र पाँचवटा एक्सटेन्सन काउन्टरहरूको एकसाथ भर्चुअल माध्यमबाट समुद्घाटन समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कको समग्र स्थितिमा सुधारको लागि विगतमा धेरै कदमहरू चालिएकाले बैङ्कका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताउनुभयो ।

बैङ्क सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले निक्षेपकर्ता र आम नागरिकको हितमा सामाजिक बैंकिङ्ग सहितको ग्राहकमैत्री सेवामा बैङ्कले जोड दिएको बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०७७ पुस मसान्तसम्म बैङ्कले २ खर्ब ४२ अर्ब रुपैंया निक्षेप सङ्कलन गरी १ खर्ब ७५ अर्ब रुपैंया कर्जा लगानी गरेको बताउनुभयो ।

५६ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्थापना भएको बैङ्क देशका सातै वटा प्रदेशका ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैङ्क हो । बैकले हाल देशभर बैङ्कका २४५ वटा शाखा कार्यालय, २०५ वटा ए.टि.एम, ३८ स्थानमा एक्सटेन्सन काउन्टर र ९३ स्थानमा शाखारहित बैंकिंग सेवा सञ्चालन गरिरहेको जनाएको छ ।


ताजा खबर